शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गोदावरीको समृद्धिको सपना बोकेका राज घिमिरे

बिहिबार, कार्तिक १९ २०८३

-विजय खड्का

अभिनयबाट परिचय बनाएका राज घिमिरे अहिले जनताको सेवामा सक्रिय छन् । दुःखमा परेकालाई सहयोग गर्ने स्वभाव, विकासप्रतिको चासो र सामाजिक सक्रियताका कारण उनी गोदावरीको भावी नेतृत्वका रूपमा चर्चामा आउन थालेका छन् ।
कसैको घरमा चुलो बल्न नसकेको खबर सुन्दा होस् वा उपचार खर्च जुटाउन नसकेर अस्पतालको शय्यामा छटपटाइरहेको बिरामीको पीडा देख्दा, उनको मन सजिलै मान्दैन । अरूको दुःखलाई आफ्नै दुःख ठानेर सकेको सहयोग गर्न अघि सर्ने स्वभावले उनलाई धेरैको नजिक बनाएको छ । यही स्वभाव र सक्रियताका कारण ललितपुरको गोदावरीमा सानुराजा घिमिरे (राज) एउटा परिचित नाम बनेका छन् ।
गोदावरीको प्राकृतिक सौन्दर्य, हरियाली र फूलहरूको सुगन्धबीच हुर्किएको उनको सार्वजनिक परिचय पनि अहिले सेवाको सुवाससँग जोडिन थालेको छ । कसैका लागि उनी चलचित्रमा देखिएका अभिनेता हुन् । कसैका लागि दुःखमा साथ दिने सामाजिक अभियन्ता । अनि गोदावरी नगरपालिका–३ का बासिन्दाका लागि उनी आफ्नै टोलको सुखदुःखमा भेटिने वडाध्यक्ष हुन् ।
राजनीति र सामाजिक सेवामा घिमिरेको सक्रियता नयाँ होइन । तर, २०७९ सालको स्थानीय तह निर्वाचनपछि उनको परिचयले नयाँ आयाम थप्यो । गोदावरी नगरपालिका वडा नं. ३ को अध्यक्षमा निर्वाचित भएपछि उनले पर्दामा देखिने कलाकारको परिचयलाई जनताको प्रत्यक्ष सेवासँग जोड्ने अवसर पाए ।
पर्दाबाट जनताको आँगनसम्म
घिमिरेलाई कलाकारका रूपमा चिनाउने यात्रा वि.सं. २०५७ मा ‘सारा खुशी’ बोलको गीतबाट सुरु भएको थियो । अभिनयप्रतिको रुचिले उनलाई मनोरञ्जन क्षेत्रमा पु¥यायो । समयक्रममा चलचित्र ‘चपली हाइट’ ले उनलाई चर्चित अभिनेताका रूपमा स्थापित गरायो । सन् २०१२ मा प्रदर्शन भएको उक्त चलचित्रसँगै उनको चर्चा बढ्यो । त्यसपछि सन् २०१३ मा प्रदर्शन भएको ‘भिजिलान्ते’ लगायतका चलचित्रमा पनि उनले अभिनय गरे ।
क्यामेरा अगाडि उभिएर दर्शकको मन जित्ने प्रयास गरिरहेका घिमिरेको मन भने समाजका विभिन्न समस्या र राजनीतितर्फ पनि आकर्षित थियो । उनी चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि नै राजनीतिक गतिविधिमा संलग्न रहेको बताउँछन् । तर, समयसँगै उनलाई एउटा कुरा महसुस हुँदै गयो–कलाकारका रूपमा प्राप्त परिचय र लोकप्रियतालाई समाज परिवर्तनका काममा पनि उपयोग गर्न सकिन्छ ।
“चलचित्रबाट सामाजिक काम गर्न नसकिएजस्तो लाग्यो, अनि म राजनीतिमा सक्रिय भएको हुँ,” उनले भने । उनको यो भनाइले राजनीतिमा आउनुको उद्देश्य पद प्राप्ति मात्रै नभएको सन्देश दिन्छ । उनी आफ्नो राजनीतिक यात्रालाई जनताको सेवा र विकाससँग जोडेर व्याख्या गर्छन् ।
“म पद, पैसा र प्रतिष्ठाका लागि राजनीतिमा आएको होइन । म जनताको सेवा गर्न र देशमा सकेको विकास गर्न राजनीतिमा आएको हुँ,” घिमिरेको भनाइ छ । राजनीतिमा धेरै मानिस पद र शक्तिको खोजीमा प्रवेश गर्छन् । तर, पदलाई सेवाको माध्यम बनाउन सकिन्छ भन्ने सोचले उनलाई राजनीतिमा सक्रिय बनाएको देखिन्छ । यही सोचलाई व्यवहारमा उतार्ने प्रयासकै रूपमा उनी आफ्नो सामाजिक सक्रियतालाई प्रस्तुत गर्छन् ।
दुःखमा साथ दिने हात
कोरोना महामारीले संसारलाई नै त्रसित बनाएको समय थियो । मानिसहरू घरभित्र सीमित थिए । रोजगारी गुमेका परिवारलाई बिहान–बेलुकाको छाक टार्न मुस्किल थियो । बिरामीलाई अस्पताल पु¥याउन र उपचार खर्च जुटाउनसमेत कठिन भइरहेको थियो । यस्तो बेला राहत र सहयोगको खाँचो थियो ।
घिमिरे त्यतिबेला पनि सामाजिक गतिविधिमा सक्रिय रहे । राहत वितरण, जनचेतना फैलाउने काम र समस्यामा परेका नागरिकलाई सहयोग गर्ने प्रयासमा उनी संलग्न भए । उनको सक्रियता महामारीमा मात्रै सीमित रहेन । बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत पु¥याउनेदेखि उपचार खर्च अभावमा समस्यामा परेका परिवारलाई सहयोग गर्नेसम्मका काममा उनी अग्रसर हुँदै आएका छन् ।
उनले त्यो सयम २०० जनाभन्दी बढी जेष्ठ नागरिकलाई औषधि सहयोग गरेका छन् । सुत्केरी महिलालाई पोषण सामग्री उपलब्ध गराउने र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने काममा पनि उनको संलग्नता रहँदै आएको छ ।
पछिल्लो समय नुवाकोटका बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण गर्न पनि उनी टोलीसहित पुगेका थिए । आफ्नो वडाभन्दा बाहिरका नागरिकको पीडामा समेत साथ दिन पुग्नुले उनको सामाजिक सक्रियता स्थानीय सीमाभन्दा परसम्म फैलिएको देखाउँछ ।
हामीकहाँ चाडपर्व आउँदा धेरै घरमा खुसी छाउँछ । नयाँ लुगा, मिठो खानेकुरा र पारिवारिक भेटघाटले वातावरण उल्लासमय हुन्छ । तर, सबैका लागि चाडपर्व खुसीको समय हुँदैन । आर्थिक अभावमा गुज्रिरहेका परिवारका लागि चाडपर्व थप पीडाको कारण बन्न सक्छ । बिरामीको उपचार खर्च जुटाउन नसकेका अभिभावकका लागि हरेक दिन चुनौतीपूर्ण हुन्छ । यस्ता परिवारको पीडामा साथ दिनु नै घिमिरेले सामाजिक सेवाको एउटा महत्वपूर्ण पक्ष बनाउँदै आएका छन् ।
सहयोगको वास्तविक अर्थ रकमको आकारमा मात्र हुँदैन । कसैको कठिन समयमा उसलाई एक्लो छैन भन्ने अनुभूति गराउनु पनि सहयोग हो । घिमिरेको सामाजिक परिचयमा यही मानवीय पक्षले महत्वपूर्ण स्थान ओगटेको छ ।
वडाको विकासदेखि नगरको समृद्धिसम्म
२०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि घिमिरेका लागि सामाजिक सेवाको क्षेत्र थप फराकिलो भयो । अब उनीसँग व्यक्तिगत रूपमा सहयोग गर्ने मात्रै होइन, स्थानीय सरकारको अधिकार र स्रोतसाधन प्रयोग गरेर नागरिकका समस्या समाधान गर्ने जिम्मेवारी पनि आयो ।
वडाध्यक्षका रूपमा उनले सडक तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन् । पर्यटकीय सम्भावना बोकेको गोदावरी नगरपालिकाको वडा नं. ३ का कतिपय भित्री सडक वर्षायाममा हिलाम्मे हुने र नागरिकलाई आवतजावत गर्न कठिनाइ हुने समस्या छ । यस्तो अवस्थामा सडक सुधार स्थानीयवासीको दैनिक जीवनसँग जोडिएको आवश्यकता हो ।
“हामीसँग भएका बजेटअनुसार चरणबद्ध रूपमा सडक सुधारको काम गर्दै आएका छौँ,” उनले भने । उनका अनुसार सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनलाई पनि वडाको विकास योजनामा समेटिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न वडा शिक्षा समितिमार्फत काम अघि बढाइएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच पु¥याउने प्रयास पनि भइरहेको उनको भनाइ छ ।
विकास भनेको सडक र भवन निर्माण मात्र होइन । नागरिकले गुणस्तरीय शिक्षा पाउनु, बिरामी हुँदा उपचार पाउनु, युवाले आफ्नै ठाउँमा रोजगारीको अवसर पाउनु र जेष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन सक्नु पनि विकासका महत्वपूर्ण आधार हुन् । घिमिरेले यी विषयलाई वडाको विकाससँग जोडेर अघि बढाउन खोजेको देखिन्छ ।
स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् । स्वास्थ्य संस्थाको सेवा प्रवाह सुधार गर्ने, चिकित्सकको व्यवस्था गर्ने, टोलटोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने र जेष्ठ नागरिकलाई औषधि वितरण गर्ने काममा उनको ध्यान रहेको छ । सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराउने कार्यक्रमलाई पनि उनले महत्व दिएका छन् ।
विशेषगरी आर्थिक अवस्था कमजोर भएका परिवारका लागि सामान्य स्वास्थ्य समस्या पनि ठूलो आर्थिक बोझ बन्न सक्छ । नियमित औषधि किन्न नसक्ने, उपचारका लागि अस्पताल पुग्न नसक्ने र स्वास्थ्य सेवाबारे जानकारी नपाएका नागरिकलाई स्थानीय सरकारको सहयोग आवश्यक हुन्छ । यस्ता नागरिकसम्म सेवा पु¥याउनु जनप्रतिनिधिको दायित्व पनि हो ।
भूमिहीनको आवाज र विकासको बहस
गोदावरीमा विकासका सम्भावना जति छन्, नागरिकका समस्या पनि उत्तिकै छन् । सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापन, आवासको सुरक्षा, सार्वजनिक जग्गाको संरक्षण र सडक विस्तारबाट प्रभावित घरटहराको व्यवस्थापन स्थानीय राजनीतिका महत्वपूर्ण सवाल हुन् ।
घिमिरेले भूमिहीन नागरिकका समस्यालाई पनि आफ्नो राजनीतिक सरोकारको विषय बनाउँदै आएका छन् । उनी उनीहरूको हित रक्षाका पक्षमा आवाज बुलन्द गर्दै आएका छन् ।
भूमिहीन नागरिकलाई आवास र जीविकोपार्जनको सुरक्षा चाहिन्छ । अर्कोतर्फ सार्वजनिक जग्गाको संरक्षण र कानुनी व्यवस्थाको पालना पनि उत्तिकै आवश्यक छ । यी दुई पक्षबीच सन्तुलन कायम गर्दै समस्याको दीर्घकालीन समाधान खोज्नु स्थानीय नेतृत्वको जिम्मेवारी हो ।
यस्ता विषयमा नागरिकका गुनासा सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र कानुनी प्रक्रियाबाट समाधान खोज्ने काम सहज छैन । तर, स्थानीय जनप्रतिनिधिले कठिन विषयबाट पन्छिन मिल्दैन । घिमिरेले पनि यस्ता विषयमा आफ्नो भूमिका खोजिरहेका छन् ।
गोदावरीको समग्र विकास, पर्यटन प्रवद्र्धन, बजेट विनियोजन तथा सडक विस्तारबाट प्रभावित घरटहराको व्यवस्थापनका सवालमा प्रदेश सरकारसँग समन्वय गर्ने प्रयास पनि उनको राजनीतिक सक्रियताका विषय बनेका छन् ।
पर्यटनबाट समृद्धिको सपना
गोदावरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो । हरियाली वन, धार्मिक तथा सांस्कृतिक सम्पदा, शान्त वातावरण र पर्यटकीय गन्तव्यहरूले यस क्षेत्रलाई छुट्टै पहिचान दिएका छन् । यहाँको पर्यटनलाई व्यवस्थित गर्न सके स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्न सक्छ ।
घिमिरे गोदावरीको यही सम्भावनालाई स्थानीय समृद्धिसँग जोड्नुपर्ने बताउँछन् । विशेषगरी वडा नं. ३ मा धार्मिक, खेलकुद तथा अन्य पर्यटकीय गतिविधि विस्तार गर्न सकिने उनको धारणा छ ।
उनका अनुसार शनिबार वडामा आउने पर्यटकको सङ्ख््या पहिलेको तुलनामा बढेको छ । पर्यटकको आगमनलाई स्थानीय व्यवसाय, रोजगारी र आर्थिक गतिविधिसँग जोड्न सके त्यसको लाभ स्थानीय नागरिकले पाउन सक्छन् ।
पर्यटन भनेको पर्यटकको आगमन र फोटो खिच्ने गतिविधि मात्र होइन । स्थानीय उत्पादनको बजार विस्तार हुनु, होटल तथा रेस्टुरेन्ट व्यवसाय चल्नु, युवाले रोजगारी पाउनु र स्थानीय संस्कृतिको प्रवद्र्धन हुनु पनि पर्यटन विकासका उपलब्धि हुन् । गोदावरीको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनको सम्भावना उपयोग गर्न सके यसले नगरको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
घिमिरे पर्यटन तथा होटल व्यवसायमा समेत सक्रिय छन् । त्यसैले पर्यटनको सम्भावना र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक अवसरबारे उनको चासो स्वाभाविक पनि देखिन्छ ।
अब नगरको नेतृत्व गर्ने कि ?
कलाकार, सामाजिक अभियन्ता र जनप्रतिनिधिका रूपमा आफ्नो परिचय बनाउँदै आएका घिमिरेको चर्चा अहिले वडाको सीमाभन्दा बाहिर पनि हुन थालेको छ । सामाजिक सेवामा सक्रियता, नागरिकसँगको सम्बन्ध र स्थानीय विकासका विषयमा देखाएको चासोका कारण उनलाई आगामी दिनमा गोदावरी नगरपालिकाको नेतृत्वमा देख्न चाहनेहरू बढ्न थालेका छन् ।
सामाजिक अभियन्ता तथा स्थानीयवासीले उनलाई आगामी स्थानीय तह निर्वाचनमा नगरप्रमुख (मेयर) को उम्मेदवार बन्न सुझाव दिन थालेका छन् । कतिपयले त उनलाई नगरको नेतृत्व गर्न उपयुक्त पात्रका रूपमा समेत चर्चा गरिरहेका छन् । तर, घिमिरेले आगामी निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छैनन् । उनी आफैँले यसबारे के निर्णय लिन्छन् भन्ने स्पष्ट हुन बाँकी छ ।

यद्यपि, स्थानीय राजनीतिमा उनको सम्भावनाबारे बहस सुरु हुनु आफैँमा अर्थपूर्ण छ । एउटा वडाको नेतृत्व सम्हालिरहेको व्यक्तिलाई नगरको नेतृत्वमा देख्न चाहनुका पछाडि नागरिकका अपेक्षा र विश्वास जोडिएका हुन्छन् । तर, मेयर बन्ने चाहना वा चर्चा मात्र पर्याप्त हुँदैन । नगरका सबै वडाको आवश्यकता बुझ्ने, सीमित स्रोतसाधनको न्यायोचित वितरण गर्ने, सुशासन कायम गर्ने र दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने क्षमता पनि आवश्यक हुन्छ ।
वडाध्यक्षका रूपमा आफूले गरेका कामको मूल्याङ्कन र बाँकी कार्यकालमा हासिल गर्ने उपलब्धिले उनको भावी राजनीतिक यात्रालाई थप स्पष्ट पार्नेछ । व्यक्तिगत लोकप्रियतालाई संस्थागत नेतृत्वमा रूपान्तरण गर्न सक्ने क्षमता नै उनको अर्को महत्वपूर्ण परीक्षा हुनेछ ।
गोदावरीको फूलझैँ सुवास फैलाउने अपेक्षा
घिमिरेको यात्रा एउटा अभिनेताको परिचयबाट सुरु भएर सामाजिक सेवाको बाटो हुँदै स्थानीय जनप्रतिनिधिको जिम्मेवारीसम्म आइपुगेको छ । यो यात्रामा उनले फरकफरक भूमिका निर्वाह गरेका छन् । पर्दामा अभिनय गरेर दर्शकको मन जित्ने प्रयास गरे । सामाजिक सेवामार्फत दुःखमा परेकाको साथ बन्न खोजे । अहिले जनप्रतिनिधिका रूपमा स्थानीय विकास र नागरिकका समस्यासँग जोडिएका छन् ।
लोकप्रियता क्षणिक हुन सक्छ । तर, मानिसको दुःखमा दिएको साथ लामो समयसम्म सम्झनामा रहन्छ । पद पनि स्थायी हुँदैन । तर, पदमा रहँदा नागरिकका लागि गरिएका राम्रा कामले व्यक्तिको वास्तविक परिचय निर्माण गर्छन् ।
घिमिरेका लागि पनि अहिलेको सबैभन्दा ठूलो अवसर यही हो–आफ्नो सामाजिक सक्रियता र राजनीतिक प्रतिबद्धतालाई परिणाममुखी काममा बदल्ने । वडाको विकासमा देखिने उपलब्धि हासिल गर्ने । नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह सुधार्ने । अनि गोदावरीको समृद्धिका लागि स्पष्ट र व्यावहारिक योजना अघि सार्ने ।
गोदावरीमा फुल्ने फूलले आफ्नो सुवास आफैँ फैलाउँछ । त्यसलाई कसैले कर गरेर सुगन्धित बनाउनुपर्दैन । त्यस्तै, जनताको मनमा स्थान बनाउन पनि भाषणभन्दा व्यवहार र आश्वासनभन्दा परिणाम महत्वपूर्ण हुन्छ । गोदावरीको फूलझैँ सुवास फैलाउने अपेक्षा गरिएका घिमिरेलाई स्थानीयले नगरको नेतृत्वका लागि सुझाव दिइरहेका छन् । उनी मेयरको उम्मेदवार बन्लान् वा नबन्लान्, त्यो समयले बताउनेछ । तर, उनको राजनीतिक यात्राको आगामी अध्यायले एउटा प्रश्नको जवाफ अवश्य दिनुपर्नेछ– के सामाजिक सेवाबाट प्राप्त लोकप्रियतालाई गोदावरीको समग्र विकास र सुशासनको बलियो आधार बनाउन सकिन्छ ? यसको उत्तर उनको आगामी काम, निर्णय र नेतृत्व क्षमताले दिनेछ । (लेखक पोखरा विश्वविद्यालयका पिएचडी स्कलर हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार