बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनआरएनए वरिष्ठ उपाध्यक्ष शेरचन र चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालबीच भेटवार्ता, बाढीपीडितको सम्झनामा स्मृति पार्क निर्माणबारे छलफल

बुधबार, कार्तिक ११ २०८३

चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचन र चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालबीच भेटवार्ता भएको छ। चितवन भ्रमणका क्रममा भएको उक्त भेटमा केही महिनाअघि आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा स्मृति पार्क निर्माण गर्ने प्रस्ताव तथा त्यसका लागि आवश्यक सहयोग जुटाउने विषयमा छलफल भएको हो।

भेटका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनालाई चिरस्थायी बनाउन चितवनको नगर क्षेत्रमा स्मृति पार्क स्थापना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उहाँले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न, उनीहरूको योगदान र सम्झनालाई भावी पुस्तासम्म पुर्‍याउन तथा विपद्बाट प्रभावित परिवार र समुदायको पीडालाई स्मरण गर्न स्मृति पार्क महत्त्वपूर्ण हुने बताउँदै त्यसको निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो।

प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष शेर्चनले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वसँग जोडिएको यस्तो परियोजनामा आवश्यकताअनुसार सहयोग गर्न आफू इच्छुक रहेको बताउनुभयो। उहाँले एनआरएनएको संस्थागत पहल तथा आफ्नो व्यक्तिगत तर्फबाट समेत सम्भव सहयोगका लागि सम्बन्धित पक्षसँग समन्वय र छलफल अघि बढाउन तयार रहेको धारणा व्यक्त गर्नुभयो।

पछिल्लो परिस्थितिका कारण स्मृति पार्क निर्माणसम्बन्धी परियोजना तत्काल अघि बढ्न नसकेको भए पनि यसलाई पूर्ण रूपमा त्यागिएको नभई उपयुक्त समयमा पुनः छलफल गरेर अगाडि बढाउन सकिने विषयमा कुराकानी भएको बताइएको छ। परियोजनाको आवश्यकता, कार्ययोजना र सहयोगको सम्भावनाबारे थप छलफल गरी उपयुक्त समयमा पहल अघि बढाउने विषयमा शेर्चनले सकारात्मक प्रतिबद्धता जनाउनुभएको छ।

स्मृति पार्क निर्माणसम्बन्धी प्रस्ताव एनआरएनएका प्रवक्तामार्फत वरिष्ठ उपाध्यक्ष शेरचनसमक्ष प्रस्तुत गरिएको थियो। उक्त परियोजनासँग सम्बन्धित छलफल तथा समन्वयमा सोम सापकोटा पनि समितिका सदस्यका रूपमा संलग्न हुनुहुन्छ।

प्राकृतिक विपद्ले पुर्‍याएको मानवीय क्षतिको सम्झनालाई संरक्षण गर्नु, दिवंगत व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्नु र विपद्का घटनाबाट समाजले सिकेका पाठलाई भावी पुस्तासम्म पुर्‍याउनु स्मृति पार्कको प्रमुख उद्देश्य बन्न सक्नेछ। यसले स्थानीय समुदायमा मानवीय संवेदना, सामाजिक एकता र विपद् व्यवस्थापनप्रतिको सचेतना अभिवृद्धि गर्नसमेत योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

नेपालमा प्राकृतिक विपद्का बेला स्वदेश तथा विदेशमा रहेका नेपालीबीच सहयोग, सहकार्य र ऐक्यबद्धता आवश्यक रहँदै आएको छ। यस सन्दर्भमा प्रस्तावित स्मृति पार्क निर्माणका लागि एनआरएनए, स्थानीय प्रशासन, सम्बन्धित समिति तथा अन्य सहयोगी पक्षबीच समन्वय हुन सके परियोजनालाई अघि बढाउन सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार