बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मलेसियासँग श्रमिक भर्नाबारे बैठक प्रस्ताव

एफडब्लूसीएमएसअन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषय तथा श्रम आप्रवासनका अन्य सवालमा द्विपक्षीय छलफल गर्ने प्रस्ताव

मंगलबार, कार्तिक १० २०८३

काठमाडौँ । नेपाल सरकारले मलेसियासँग नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासम्बन्धी विषयमा छलफल गर्न संयुक्त कार्यदलको बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ। श्रमिक भर्ना प्रक्रियामा देखिएका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने उद्देश्यले नेपालले कूटनीतिक पहल अघि बढाएको हो।

परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को बैठक आयोजना गर्ने प्रस्ताव गरेको छ। बैठकमा मलेसियाको विदेशी श्रमिक भर्ना व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषय तथा श्रम आप्रवासनका अन्य सवालमा द्विपक्षीय छलफल गर्ने प्रस्ताव गरिएको छ।

नेपालले बैठकका लागि सन् २०२६ नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ को मिति प्रस्ताव गरेको छ। मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपालको प्रस्ताव छ।

श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्नुपर्ने विषयलाई नेपालले प्राथमिकतामा राखेको छ। दुवै देशबीच आपसी सहमतिका आधारमा नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा छ। यसले श्रमिक भर्ना प्रक्रियामा अनिश्चितता हुन नदिन र वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सहज वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा छलफल हुनेछ। त्यसैगरी, नेपाल र मलेसियाबीच सन् २०१८ मा सम्पन्न श्रमसम्बन्धी समझदारीपत्र नवीकरण गर्ने विषय पनि बैठकको प्रमुख कार्यसूचीमा रहने अपेक्षा गरिएको छ। समझदारीपत्र नवीकरणसम्बन्धी मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत दुवै पक्षबीच छलफल गर्ने नेपालको तयारी छ।

नेपाल र मलेसियाबीच लामो समयदेखि वैदेशिक रोजगारीका क्षेत्रमा सहकार्य हुँदै आएको छ। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख श्रम गन्तव्य मुलुकमध्ये एक हो। त्यसैले श्रमिकको छनोट, भर्ना, रोजगारीको प्रक्रिया र श्रमिकको हित संरक्षणसँग सम्बन्धित विषयलाई आपसी संवादमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहँदै आएको छ।

नेपाल सरकारले मलेसियासँगको दीर्घकालीन श्रम सहकार्यलाई उच्च महत्त्व दिएको जनाएको छ। नेपाली श्रमिकको हित संरक्षण गर्नुका साथै सुरक्षित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने सरकारको प्राथमिकता रहेको छ। यसका लागि दुवै मुलुकको साझा हितअनुकूल श्रम सम्बन्धलाई थप सुदृढ बनाउन आवश्यक रहेको नेपालको धारणा छ।

प्रस्तावित संयुक्त कार्यदलको बैठकले श्रमिक भर्ना प्रक्रियामा देखिएका विषय सम्बोधन गर्न, विद्यमान व्यवस्थालाई थप प्रभावकारी बनाउन तथा दुई देशबीचको श्रम सहकार्यलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैठकको मिति भने मलेसियाली पक्षको अनुकूलताअनुसार तय हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार