मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३

बबरमहलमा खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने संकल्पसहित पत्रकार सम्मेलन सम्पन्न

सोमबार, असोज २६ २०८३

काठमाडौँ । खाद्यका लागि कृषि अभियानको आयोजनामा ‘खाद्य सम्प्रभुता र जलवायु न्यायको आवाज सशक्त बनाउने संकल्प’ का साथ विश्व खाद्य दिवस २०८३ को अवसर पारेर आज बबरमहलस्थित साप फल्चामा एक पत्रकार सम्मेलन सम्पन्न भएको छ।

हालै देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढी, पहिरो र प्राकृतिक विपद्का कारण कृषि क्षेत्र, रैथाने खाद्य संस्कृति र जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै अभियानले सार्वजनिक अपिलसमेत जारी गरेको छ।

कार्यक्रम खाद्यका लागि कृषि अभियानका संयोजक एवं कृषि अभियन्ता उद्धव अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रबिन भट्टराईले गर्नुभएको थियो।

कार्यक्रममा आफ्ना भनाइहरू राख्दै सभापति उद्धव अधिकारीले हालैको बाढीपहिरोले कृषि योग्य जमिनमा पुर्‍याएको क्षति र विस्थापित किसानहरूको पुनःस्थापनाका लागि सरकार र सरोकारवाला निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अतिथि एवं अभियानका सदस्य डा. कृष्ण प्रसाद पौडेलले भोटकोसी र त्रिशूली लगायतका क्षेत्रमा देखिएका जलवायूजन्य विपद्हरू यो पुस्ताले देखेभोगेकै सबैभन्दा भयावह भएको उल्लेख गर्दै नेपालजस्ता साना मुलुकहरूले जलवायू न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा दह्रो आवाज उठाउनुपर्ने बताउनुभयो।

त्यसैगरी अर्का अतिथि एवं सचिवालय सदस्य सारदा थापाले विपद्को मारमा परेका महिला, बालबालिका तथा भूमिहीन किसानहरूलाई तत्काल राहत र सुरक्षित आवासको व्यवस्था गर्न माग गर्नुभयो। कार्यक्रममा उपस्थित कृषक दिपेश नेपालले जमिनमा थुप्रिएको बालुवा र लेदोका कारण किसानहरूले भोग्नुपरेको प्राविधिक तथा आर्थिक समस्याबारे आफ्नो प्रत्यक्ष अनुभव र पीडा साट्नुभएको थियो।

अभियानले जारी गरेको अपिलमा क्षतिग्रस्त भूभागको प्राविधिक मूल्याङ्कन गरी माटोको पुनरुत्थान गर्न, किसानहरूलाई बीउ, औजार र मल तत्काल उपलब्ध गराउन तथा जलविद्युत् आयोजना र नदी दोहनका कारण बढेको वातावरणीय जोखिमलाई न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्न सरकारसमक्ष जोडदार माग गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार