काठमाडौं। राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष समारोहका बिच कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष अग्रवालले नेपाली संगीत मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्त्वपूर्ण आधार भएको बताए । नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउनुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रका कलाकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन आवश्यक रहेको उनको भनाइ थियो ।
उनले कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक, प्रतिलिपि अधिकारको प्रभावकारी कार्यान्वयन र डिजिटल रोयल्टीमा पारदर्शिता कायम गर्नुपर्ने बताए । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, स्ट्रिमिङ प्लेटफर्म र कृत्रिम बौद्धिकता (एआई) ले संगीत क्षेत्रमा नयाँ अवसर सिर्जना गरे पनि कलाकारको सिर्जनामाथिको अधिकार सुरक्षित हुनुपर्नेमा उनले जोड दिए ।
नेपाली लोकसंगीत, हिमाली तथा पहाडी क्षेत्रका मौलिक धुन र तराईका सांस्कृतिक भाकाले नेपालको विशिष्ट पहिचान निर्माण गरेको उल्लेख गर्दै अग्रवालले संगीतलाई पर्यटन प्रवर्द्धन, सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय बजार विस्तारसँग जोड्नुपर्ने बताए । कलाकार राष्ट्रका सांस्कृतिक दूत भएको भन्दै उनले संगीत क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचान बलियो बनाउने बताए । उनले कला, साहित्य र संगीत क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा राज्यले प्राथमिकता दिनुपर्ने र कलाकार, सञ्चारकर्मी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले संघले देश तथा विदेशमा आफ्नो संगठन विस्तार गर्दै आएको बताए । उनका अनुसार संघका शाखा २२ देशमा छन् । संगीतको कुनै निश्चित भूगोल नहुने उल्लेख गर्दै उनले सबै क्षेत्रका संगीतकर्मीलाई संगठनमा जोड्ने अभियान अघि बढाइएको बताए ।
कटुवालले कलाकारको सुखदुःखमा साथ दिनु संघको मुख्य उद्देश्य भएको उल्लेख गर्दै कलाकार र स्रष्टाको सम्मान तथा संरक्षणमा संस्था प्रतिबद्ध रहेको बताए । उनले संघको अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा हिमालयन सोसियल जर्नीका अध्यक्ष तथा पर्यटन व्यवसायी रामप्रसाद सापकोटासहित विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरु राजेश मास्केस, विनोद श्रेष्ठ, सुनिल कुँवर र सन्दीप तामाङ, नारायण सापकोटा, शंकर आचार्य, मुना निरौला, राम लामा, ऋषिराम आचार्य, रुद्र चापागाईं, विष्णु शिल्पकार, दुःख राई, राजु यह, जीवन चौलागाईं, देवराज साउद, रामबहादुर राई, चुडामणि मैनाली, शंकर कटुवाल, डिबी बोगटी, राम श्रेष्ठ, दीपेश कार्की, उग्रेन लामा, नोर्चेल तामाङ, कबिन्द्र त्रिपाठी, साङ्गे शेर्पा, राजकुमार सिग्देल, राजु भट्ट, सरोज ओझा, कबिराज ढकाल, सञ्जय पोखरेल, सिद्धार्थ क्षेत्री, नेत्रबहादुर कार्की, नरेन्द्र क्षेत्री र सुनिल गुर्देलालगायतको उपस्थिति थियो ।
दसैंलगायतका चाडपर्वको शुभकामना आदानप्रदानसँगै विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गरिएको कार्यक्रममा नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो । दुलालले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै साथ र सहयोग दिने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमको मिडिया पार्टनर जनसवाल दैनिक रहेको थियो ।