रौतहट । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाका प्रहरी प्रमुख आईपी एस अफिसर एसपी स्वर्ण प्रभातले लागूऔषध तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानको राष्ट्रियस्तरमा प्रशंसा भएको छ।
उनको नेतृत्वमा दुई वर्षयता सञ्चालन गरिएको अभियानबाट करिब ५२ करोड भारतीय रुपैयाँ मूल्यका लागूऔषध बरामद गरिएको छ भने १०० भन्दा बढी तस्कर तथा अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको जनाइएको छ।
भारतकी पहिलो महिला आईपीएस अधिकारी तथा पूर्व उपराज्यपाल किरण बेदीले समेत एसपी प्रभात र उनको प्रहरी टोलीको कामको प्रशंसा गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत अभियानको सफलताको प्रशंसा गर्दै टोलीलाई बधाई दिएकी हुन्।
बेदीले आफ्नो पोस्टमा लेखेकी छन्, ‘शानदार काम, राष्ट्रियस्तरमा आभार। तपाईंको सफलताको क्रम निरन्तर जारी रहोस्। उद्देश्यप्रतिको इमानदारी र दृढ संकल्प नै सफलताको कुञ्जी हो। एसपी स्वर्ण प्रभात र तपाईंको सम्पूर्ण टोलीलाई बधाई।’
प्रहरीले लागूऔषधको अवैध कारोबार नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ। यस अवधिमा ठूलो परिमाणमा लागूऔषध बरामद हुनु र तस्करीमा संलग्न व्यक्तिहरूविरुद्ध कारबाही अघि बढाइनुलाई अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।