काठमाडौं ,विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा हेर्ने परम्परागत दृष्टिकोण बदल्दै उनीहरूको ज्ञान, सीप, पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्ने एजेन्डासहित नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति डण्डपानी (डीपी) कंडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
कंडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एसिया प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीको केन्द्रमा प्रवासी नेपालीलाई नेपालको नीति निर्माण र विकास प्रक्रियाको संस्थागत साझेदार बनाउने विषय छ।
कंडेलले आफ्नो वक्तव्यमार्फत गैरआवासीय नेपाली नागरिकता, विदेशबाट मतदानको अधिकार, लगानी सुरक्षा, सम्पत्तिको अधिकार, डायस्पोराको ज्ञान–सीप उपयोग र वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षासहितका मुद्दा अघि सारेका छन्।
उनले संविधानमा व्यवस्था भएअनुसार गैरआवासीय नेपाली नागरिकतालाई सहज र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्। नागरिकताको निरन्तरता र त्यससँग जोडिएका अधिकारलाई स्पष्ट तथा व्यवहारिक बनाउन कानुनी व्यवस्था आवश्यक रहेको उनको धारणा छ।
विदेशमा रहेका नेपाली नागरिकलाई नेपालको निर्वाचनमा सहभागी गराउन ‘इन–एब्सेन्टिया भोटिङ’ व्यवस्था लागू गर्नुपर्ने उनको अर्को प्रमुख प्रस्ताव छ। विदेशमा रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न सक्ने व्यवस्था भए उनीहरूको राजनीतिक सहभागिता थप संस्थागत हुने कंडेलको तर्क छ।
प्रवासी नेपालीको लगानी नेपालमा आकर्षित गर्न उनले छुट्टै ‘वान–स्टप सर्भिस सेन्टर’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्। बैंक खाता, सेयर बजारमा लगानी, पुँजी तथा नाफा फिर्ता र लगानीसम्बन्धी प्रशासनिक प्रक्रियालाई सरल बनाउनुपर्ने उनको माग छ।
नेपालमा रहेका प्रवासी नेपालीको पैतृक तथा आर्जित सम्पत्तिको स्वामित्व, खरिद–बिक्री र हक हस्तान्तरणलाई कानुनी रूपमा सुरक्षित गर्नुपर्ने विषय पनि उनले उठाएका छन्।
त्यसैगरी विदेशमा रहेका नेपालीको विशेषज्ञता नेपालमा उपयोग गर्न ‘राष्ट्रिय डायस्पोरा ज्ञान/सीप कोष’ स्थापना गर्नुपर्ने उनको प्रस्ताव छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार र प्रविधिका क्षेत्रमा प्रवासी नेपालीको ज्ञान तथा अनुभव परिचालन गर्ने संस्थागत संयन्त्र आवश्यक रहेको कंडेलको धारणा छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने र विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई स्रोत–साधन सम्पन्न बनाउने विषय पनि उनको एजेन्डामा छ। श्रमिकका समस्या, उद्धार, कानुनी सहायता तथा कन्सुलर सेवालाई छिटो र पारदर्शी बनाउन उनले जोड दिएका छन्।
जापानमा नेपाली कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि सक्रिय कंडेल नेपाली जनसम्पर्क समिति जापानको सभापतिको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। अहिले उनी एसिया–प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय कार्यसमितिमा पुग्ने प्रयासमा छन्।
कंडेलले नेपाली कांग्रेसको राजनीतिक परिवर्तनमा प्रवासमा रहेका नेपालीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अब त्यो योगदानलाई पार्टीको नीति निर्माणमा संस्थागत गर्नुपर्ने बताएका छन्।
उनको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा प्रवासी नेपालीको राजनीतिक प्रतिनिधित्वसँगै उनीहरूको आर्थिक, सामाजिक र नागरिक अधिकारका विषयलाई पनि बहसको केन्द्रमा ल्याएको छ।
कंडेलको राजनीतिक प्रस्तावको मूल सन्देश स्पष्ट छ—प्रवासलाई रेमिट्यान्सको स्रोतमा सीमित नगरी ज्ञान, सीप, पुँजी र प्रविधिसहित नेपालको विकासको साझेदार बनाउने।