काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वसभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। करिब दुई दशकदेखि अष्ट्रेलियामा रहेर नेपाली कांग्रेसको संगठन विस्तार, प्रवासी नेपाली समुदायसँगको समन्वय र सामाजिक गतिविधिमा सक्रिय गिरीले प्रवासमा हासिल गरेको अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका हुन्।
झापाको अर्जुनधाराबाट २०४७ सालमै बुबाको प्रेरणाबाट कांग्रेसको राजनीतिमा जोडिएका गिरीले विद्यार्थी जीवनदेखि नै संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएका छन्। त्रिचन्द्र क्याम्पस, नेपाल विद्यार्थी संघ झापा हुँदै नेविसंघ केन्द्रीय समितिका विभिन्न विभागमा रहेर उनले विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
गिरीको राजनीतिक यात्राको महत्वपूर्ण पक्ष त्रिचन्द्र क्याम्पसको विद्यार्थी राजनीति पनि हो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति रहेका बेला गिरी स्ववियु सदस्यका रूपमा थापासँगै विद्यार्थी राजनीतिमा सक्रिय थिए। विद्यार्थी राजनीतिबाट सुरु भएको त्यो सहकार्य अहिले कांग्रेसको केन्द्रीय नेतृत्वको सन्दर्भमा पुनः जोडिएको छ।
पेशाले आईटी इन्जिनियर रहेका गिरी सन् २००० को दशकदेखि अष्ट्रेलियामा रहँदै आएका छन्। प्रवासमा रहे पनि कांग्रेससँगको राजनीतिक सम्बन्धलाई निरन्तरता दिएका उनी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्वसभापति तथा संरक्षक हुन्। १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा समेत उनले जिम्मेवारी निर्वाह गरेका छन्।
प्रवासमा कांग्रेसको संगठन विस्तारसँगै सूचना प्रविधिको प्रयोग, निर्वाचन प्रचारप्रसार तथा पार्टी र प्रवासी नेपाली समुदायबीच समन्वयमा गिरी सक्रिय रहँदै आएका छन्। नेपालमा भूकम्प, बाढी तथा कोभिड–१९ लगायतका विपत्तिका समयमा अष्ट्रेलियाबाट आर्थिक तथा सामाजिक सहयोग जुटाउन उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए।
गिरी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न जिम्मेवारीमा समेत रहेर काम गरिसकेका छन्। प्रवासी नेपाली समुदाय, पार्टी संगठन र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउन आफूले हासिल गरेको अनुभवलाई कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्ने उनको लक्ष्य छ।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध विस्तार, उच्चस्तरीय भेटघाट तथा परराष्ट्रमन्त्रीस्तरीय बैठक व्यवस्थापनमा समेत गिरीले भूमिका निर्वाह गर्दै आएका छन्। कांग्रेसका नेता तथा अन्तर्राष्ट्रिय समुदायबीच सम्पर्क र समन्वय विस्तारमा सक्रिय रहँदै आएका गिरीले प्रवासमा प्राप्त अवसर र अनुभवलाई अब पार्टीको संगठन सुदृढीकरणमा केन्द्रित गर्ने बताएका छन्।
सूचना प्रविधिको क्षेत्रमा रहेको आफ्नो व्यावसायिक अनुभवलाई कांग्रेसको संगठनसँग जोड्नु पनि उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा देखिएको छ। बदलिँदो प्रविधिको युगमा पार्टीको संगठन, प्रचारप्रसार र कार्यकर्ता सम्पर्कलाई थप प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनको धारणा छ।
गिरीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा प्रवासमा रहेका कांग्रेसजनको योगदान र अनुभवलाई पार्टीको केन्द्रीय संरचनासँग जोड्ने अवसरका रूपमा अघि सारेका छन्। प्रवासी नेपालीका सरोकारलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासँग जोड्दै स्वदेश र प्रवासबीचको सम्बन्धलाई थप संस्थागत बनाउने उनको प्राथमिकता रहेको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा अष्ट्रेलियाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका गिरीले महाधिवेशन प्रतिनिधिसँग आफ्नो राजनीतिक यात्रा, संगठनात्मक अनुभव र आगामी भूमिकाबारे संवाद अघि बढाउने भएका छन्। विद्यार्थी राजनीतिदेखि जनसम्पर्क समिति र एनआरएनएसम्मको अनुभव बोकेका गिरीले प्रवासको अनुभव, सूचना प्रविधि र सांगठनिक क्षमतालाई कांग्रेसको केन्द्रीय राजनीतिसँग जोड्ने एजेन्डासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।