काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दाङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चुनिएका वरिष्ठ लोकदोहोरी गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्माले पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
नेपाल सरकारको ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित शर्माले दुई दशकभन्दा लामो साङ्गीतिक अनुभवलाई अब राजनीतिक र नीतिगत भूमिकासँग जोड्ने बताएका छन्। पार्टीको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागमा काम गरिसकेका शर्माले कला, संस्कृति, भाषा र साहित्यलाई नीति निर्माणको तहमा स्थापित गराउने मुख्य एजेन्डा अघि सारेका छन्।
आफ्ना मतदाता र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै उनले स्रष्टाको अधिकार, रोयल्टी व्यवस्थापन, सामाजिक सुरक्षा र लोकसंस्कृतिको प्रवर्द्धनका मुद्दालाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन्।