काठमाडौँ । एबीबीएका ब्योर्न उल्भियसद्वारा सह-स्थापित स्वीडेनमा आधारित मनोरञ्जन तथा सङ्गीत लगानी फर्म ‘पपहाउस इन्टरटेनमेन्ट’ ले अस्ट्रेलियाली गायिका तथा गीतकार सियाको पब्लिसिङ र मास्टर सङ्गीत अधिकारको ५०% स्वामित्व अर्थात १८ करोड (१८० मिलियन)अमेरिकी डलरमा खरिद गरेको छ।
घोषणाअनुसार, पपहाउसले सियाका सिर्जनाहरूको व्यवस्थापन जारी राख्दै उनका नयाँ रचनात्मक उद्यमहरू विकास गर्न सहयोग गर्नेछ।
पपहाउसले सम्झौताको घोषणा गर्दा मनोरञ्जन समाचार वेबसाइट ‘टिएमजी’ले भने गायिका-गीतकार सियाको ड्यान बर्नाडसँग हालै भएको सम्बन्धविच्छेदका कारण यो सम्झौता केही जटिल बनेको विवरण सार्वजनिक गरेको थियो। कानुनी कागजातहरू उद्धृत गर्दै टिएजीले रिपोर्ट गरेअनुसार, सियाले बर्नाडसँग विवाह गर्नुअघि लेखेका “क्यान्डिलर”, “टिटनियुम” र “चीप थ्रिल्स” जस्ता चर्चित गीतहरूका लागि १६ करोड ५० लाख (१६५ मिलियन) डलर प्राप्त गर्नेछिन्। यसबापत बर्नाडले १० लाख (१ मिलियन) डलर भुक्तानी लिएर ती गीतहरूमा आफ्नो कुनै पनि दाबी नरहने गरी अधिकार त्यागेका छन्।
यद्यपि, उनीहरूको विवाहको समयमा लेखिएका गीतहरूका लागि तय गरिएको बाँकी १ करोड ५० लाख (१५ मिलियन) डलर भने दुवै पक्षबीच सर्तहरूमा सहमति नभएसम्म ‘एस्क्रो’मा राखिनेछ। मार्च २०२५ मा सियाले सम्बन्धविच्छेदका लागि निवेदन दिनुअघि यो जोडी तीन वर्षभन्दा कम समय विवाहबन्धनमा रहेको थियो।
सियाले सन् २००४ मा आफ्नो गीत “ब्रेथ ” मार्फत अन्तर्राष्ट्रिय ख्याति कमाएकी थिइन्; यो गीत लोकप्रिय एचबिअाे शृङ्खला “सिक्स फिट अन्डर” को अन्तिम भागमा समावेश गरिएको थियो। त्यसपछि उनले नौ वटा ग्रामी मनोनयनका साथै “अनस्टेबल”, “क्यान्डिलर “, “इलास्टिक हर्ट”, “चीप थ्रिल ” जस्ता चर्चित गीतहरू र डिप्लो तथा ल्याब्रिन्थसँग मिलेर बनेको ‘एलएसडी’ हमार्फत सन् २०१८ को हिट गीत “थन्डर क्लाउडस” बाट ठूलो सफलता हासिल गरिन्। यसबाहेक उनले रिहानाको “डायमन्डस” र बियोन्सेको ” प्रिटी हर्टस” जस्ता सुपरहिट गीतहरूको सह-लेखन पनि गरेकी छिन्।
सम्झौताबारे बोल्दै सियाले भनिन्, “पपहाउससँग काम गर्न पाउँदा म निकै उत्साहित छु। यी गीतहरू मेरो लागि धेरै अर्थपूर्ण छन्। उनीहरूले यसको महत्त्वलाई राम्ररी बुझेका छन् र यसको उचित संरक्षण गर्न चाहन्छन् भन्ने कुरा मलाई असाध्यै मन परेको छ। म लामो समयदेखि सङ्गीत सिर्जना गर्दै आएकी छु; यी गीतहरू भविष्यमा नयाँ र फरक तरिकाले श्रोताहरूसम्म कसरी पुग्न सक्छन् भन्ने सोच्दा नै उत्साह जागेर आउँछ। हामी मिलेर कस्तो नयाँ परिकल्पना साकार पार्न सक्छौँ, त्यो हेर्न म आतुर छु।”
पपहाउसकी सीईओ जेसिका कोराभोसले भनिन्, “सिया एक यस्ती असाधारण कलाकार हुन्, जसको समृद्ध सांगीतिक सङ्ग्रह अद्वितीय रचनात्मक पहिचानले उनका उत्कृष्ट सिर्जनाहरूको उत्सव मनाउन र तिनलाई अझ विस्तार गर्न अभूतपूर्व अवसरहरू प्रदान गर्छ। यो साझेदारीले सियालाई रणनीतिक सहयोग र रचनात्मक स्रोत-साधन उपलब्ध गराई थप सशक्त बनाउनेछ, जसले उनलाई आफ्नो प्रभाव जोगाउँदै कलात्मक आकाङ्क्षाहरू पूरा गर्न मद्दत गर्नेछ। सियासँग सहकार्य गर्न पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो। हामी उनको निरन्तर कलात्मक विकास र विश्वभरका दर्शकलाई प्रेरित गर्ने क्षमतालाई सहयोग गर्न तत्पर छौँ।”
पपहाउस फन्डका साझेदार शहरियार शोकोफानले भने, “आधुनिक पप सङ्गीतमा सियाले जति गहिरो प्रभाव छाडेकी छिन्, त्यति कमै कलाकारले मात्र गर्न सकेका छन्। उनको गीत लेखन र विशिष्ट आवाजले विगत केही दशकका अत्यन्त चर्चित र प्रतिष्ठित रेकर्डहरूलाई परिभाषित गरेको छ। कलात्मक निष्ठा र व्यापक लोकप्रियताबीच सन्तुलन कायम राख्ने सियाको क्षमताले उनलाई एक अद्वितीय शक्तिका रूपमा स्थापित गरेको छ। उनको साङ्गीतिक सङ्ग्रहको निरन्तर विकासमा सहयोग गर्न र विश्वभर नयाँ दर्शकहरूसम्म पुग्ने साझा उद्देश्यका साथ उहाँसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ।”
सियाको साङ्गीतिक सङ्ग्रहमा पपहाउसको यो लगानी ‘पपहासउन फन्ड-१’ मार्फत गरिएको हो। मार्च २०२५ मा १ अर्ब युरोको अधिकतम सीमा सम्म पुगेर बन्द भएको यो कम्पनीको पहिलो कोष हो। यसका अतिरिक्त, विशेष सह-लगानी संयन्त्रहरू मार्फत २० करोड युरोभन्दा बढी पुँजी जुटाइएको थियो, जसले गर्दा कुल सङ्कलित कोष १.२ अर्ब युरोभन्दा बढी पुगेको छ।
पपहाउसको स्वामित्वमा आइरन मेडन , टिना टर्नर, किस , सिन्डी लपर , अभिची र स्वेडिस हाउस माफियाजस्ता चर्चित कलाकारका साङ्गीतिक अधिकारहरू पनि समावेश छन्। साथै, कम्पनीले ‘एभिकल एक्सपिरियेन्स’, ‘एएबीए दी म्युजियम’ मिया दी पार्टी, र ‘एएबीए भाेयज जस्ता ठूला मनोरञ्जन परियोजनाहरूमा पनि लगानी गरेको छ।