आइतबार, असोज १८ २०८३

आइतबार, असोज १८ २०८३

कांग्रेसका दुवै समूहको महाधिवेशन तयारी तीव्र

सोमबार, असोज १२ २०८३

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आ–आफ्नो तयारी तीव्र बनाएका छन् ।
संस्थापन पक्षले नियमित महाधिवेशनअन्तर्गत अहिले प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरिरहेको छ भने देउवा समूहले समानान्तर महाधिवेशनका लागि छुट्टै कार्यतालिका र निर्वाचन निर्देशिका सार्वजनिक गरेर तयारी अघि बढाएको छ ।

कांग्रेसको संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ । वडा अधिवेशन सम्पन्न भइसकेको छ भने अधिकांश पालिकामा पनि अधिवेशन प्रक्रिया अघि बढेको छ । असोज १० गतेका लागि तोकिएको प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भने लगातारको वर्षाका कारण प्रभावित भएपछि अनुकूल मौसम भएका स्थानमा तोकिएकै मितिमा र अन्य क्षेत्रमा असोज १३ गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारसम्म मनाङ, मुस्ताङ र बैतडीमा प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा भने निर्वाचन प्रक्रिया चलिरहेको छ ।

क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले संस्थापन पक्षको केन्द्रीय नेतृत्व चयनका लागि मतदाता टुंगो लगाउने प्रक्रिया पनि यही अधिवेशनसँग जोडिएको छ । कांग्रेसको विधानअनुसार केन्द्रीय सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारी र सदस्य चयन गर्ने महाधिवेशन प्रतिनिधि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुन्छन् ।

यता पूर्वसभापति देउवा समूहले संस्थापन पक्षको कार्यतालिकाभन्दा अलग रहेर समानान्तर महाधिवेशन गर्ने तयारी अघि बढाएको छ । डा. शशांक कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समूहले विभिन्न जिल्लामा संयोजक तथा केन्द्रीय प्रतिनिधि खटाएर संगठन निर्माण र अधिवेशनको तयारीलाई अघि बढाएको छ ।

देउवा समूहले समानान्तर महाधिवेशनका लागि ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ समेत सार्वजनिक गरेको छ । निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्म उम्मेदवारी दर्ताका लागि आवश्यक प्रस्तावक र समर्थकको व्यवस्था गरिएको छ । केन्द्रीय सभापतिको उम्मेदवार बन्न ७ जना प्रस्तावक र ७ जना समर्थक आवश्यक पर्ने व्यवस्था छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ५–५ जना तथा केन्द्रीय सदस्यका लागि ४–४ जना प्रस्तावक र समर्थक आवश्यक पर्ने उल्लेख छ ।

निर्देशिकामा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागितालाई पनि सबै तहका कार्यसमितिमा अनिवार्य गरिएको छ । जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय तथा प्रदेश सभा क्षेत्रीय तहबाट प्रतिनिधि छनोट गर्दा एक महिला र एक पुरुष युवा अनिवार्य समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचित हुने कार्यसमितिमा पनि सोही उमेर समूहका एक महिला र एक पुरुषलाई समावेश गर्नुपर्ने उल्लेख छ ।

यसैगरी देउवा समूहले उम्मेदवारीका लागि शुल्कसमेत निर्धारण गरेको छ । वडा तहदेखि केन्द्रीय तहसम्म पदअनुसार फरक–फरक शुल्क तोकिएको छ । समानान्तर महाधिवेशनका लागि संगठनात्मक तयारीसँगै निर्वाचन प्रक्रिया र उम्मेदवारीसम्बन्धी मापदण्डसमेत तय गरेर समूहले तयारीलाई संस्थागत रूपमा अघि बढाएको छ ।

यसरी कांग्रेसका दुवै समूहले छुट्टाछुट्टै कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाएका छन् । संस्थापन पक्षको क्षेत्रीय अधिवेशनमार्फत महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेका बेला देउवा समूह भने असोज १५ गतेदेखि आफ्नै अधिवेशन प्रक्रिया सुरु गर्ने तयारीमा छ । दुवै समूहका गतिविधिले कांग्रेसको १५औँ महाधिवेशनको संगठनात्मक र नेतृत्व चयन प्रक्रिया समानान्तर रूपमा अघि बढ्ने देखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार