बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा रौतहटका सामाजिक परिचालकविरुद्ध मुद्दा

बिहिबार, असोज ८ २०८३

रौतहट । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दा दायर हुनेमा माधव नारायण नगरपालिका–नगरकार्यपालिकाको कार्यालयमा सामाजिक परिचालक (सहायक स्तर पाँचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव रहेका छन्।

अख्तियारका अनुसार यादवले जिल्ला विकास समिति, रौतहटअन्तर्गत स्थानीय ट्रष्ट कोष समितिमा सामाजिक परिचालक पदमा नियुक्ति लिने क्रममा भारतको पटनास्थित ‘बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल’बाट जारी भएको देखिने आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।

अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र नक्कली रहेको खुलेपछि यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले सरकारी सेवामा प्रवेशका लागि झुट्टा शैक्षिक प्रमाणपत्र प्रयोग गरेको विषयलाई भ्रष्टाचारजन्य कसुरका रूपमा अभियोजन गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार