काठमाडौं(जस)– रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गरेको सहयोग अभियानबाट १ करोड ५० लाख रुपैयाँ संकलन भएको छ । संघका अनुसार अभियानमा संस्था, व्यक्तिगत व्यवसायी, शाखा तथा विभिन्न विदेशी संस्थासमेत गरी हालसम्म ५२० भन्दा बढी व्यवसायी तथा संस्थाको सहभागिता रहेको छ । सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ । मानवीय सेवासँगै वैदेशिक रोजगार व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा व्यवसायीहरूले देखाएको एकता, सद्भाव र उदार सहयोगप्रति संघले आभार व्यक्त गरेको छ ।
संकलित १ करोड ५० लाख रुपैयाँ संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी तथा सदस्य र संघका सल्लाहकारहरूको उपस्थितिमा युवा, श्रम तथा रोजगार मन्त्रालयमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संघले जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । संघले हस्तान्तरण गरिएको रकम सम्बन्धित सरकारी राहत कोषमा जम्मा भई विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरेको छ ।
अभियानबाट संकलित सहयोग रकमको प्रयोग तथा आगामी राहतसम्बन्धी गतिविधिमा पारदर्शिता, जवाफदेहिता र संस्थागत निर्णय प्रक्रियालाई प्राथमिकता दिइने संघले जनाएको छ । अभियानमा सहभागी सम्पूर्ण व्यवसायी, संस्था, शाखा तथा विदेशी सहयोगी संस्थाको योगदानको अभिलेख राखी त्यसको विवरण सम्बन्धित व्यवसायीलाई समेत जानकारी गराइने संघको भनाइ छ । संघले विपद्को यस घडीमा वैदेशिक रोजगार व्यवसायी समुदायले प्रदर्शन गरेको एकता, सामाजिक उत्तरदायित्व र मानवीय भावनाले व्यवसायी क्षेत्रको सामाजिक भूमिकालाई थप उचाइ प्रदान गरेको जनाएको छ । रसुवा बाढी तथा पहिरोपीडितको राहत र पुनःस्थापनाका लागि सञ्चालन गरिएको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, संस्था, शाखा, विदेशी साझेदार संस्था तथा सहयोगी मनहरूप्रति संघले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ ।