काठमाडौँ । तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।
जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । उनले ५८ बलमा ५ चौका प्रहार गरे । यस्तै रोहित कुमार पौडेलले १९, मोहम्मद आसिफ शेखले १८ र देव खनालले १० रन बनाए ।
बहराइनको लागि इम्रान जाभेद अन्वारले दुई विकेट लिए ।
यसअघि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको खेलमा टस हरेर पहिले ब्याटिङमा उत्रिएको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो । बहराइनको लागि फैज अहमदले १५, मुहमद वासिमले १३ र अलि डावुडले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि सन्दीप लामिछानेले १० ओभरमा ४ मेडन राख्दै १४ रन दिएर पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले तीन विकेट लिँदा करण केसीको नाममा दुई विकेट रह्यो ।
जितसँगै नेपालले दुई अंक जोडेको छ । अब नेपालले दोस्रो खेल बिहिबार आयोजक मलेसियासँग खेल्नेछ ।