काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्याउन सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने भएको छ।
कम्पनीका अनुसार बाढी आएको दिनदेखि नै यो विशेष सुविधा लागू गरिएको हो। विदेशमा रहेका नेपालीले नेपालमा रहेका परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई सहज, छिटो र पठाएको पूर्ण रकम प्राप्त हुने गरी पैसा पठाउन सक्नेछन्।
खाडी मुलुकतर्फ संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत र ओमानबाट नेपाल पठाइने रेमिट्यान्समा सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
त्यस्तै जापान, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियाबाट नेपाल पठाउँदा पनि शुल्क मिनाहा गरिएको छ। युरोपतर्फ बेलायत, रोमानिया, पोर्चुगल, माल्टा, डेनमार्क, क्रोएसिया, स्विडेन, नर्वे, जर्मनी र फ्रान्सबाट पठाइने रकममा समेत सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
न्युजिल्यान्डबाट नेपाल पठाइने रेमिट्यान्समा पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ। सिटी एक्सप्रेस तथा यसका विभिन्न अन्तर्राष्ट्रिय च्यानलमार्फत यो सुविधा लागू गरिएको छ।
विपद्को समयमा विदेशमा रहेका नेपालीलाई आफ्ना परिवार तथा प्रभावित समुदायलाई आर्थिक सहयोग गर्न सहज होस् भन्ने उद्देश्यले सेवा शुल्क मिनाहा गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सुविधा तत्काल प्रभावकारी रूपमा लागू भएको छ। विगत २० वर्षदेखि विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स सेवा दिँदै आएको सिटी एक्सप्रेसले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ।