काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो ।
बाढीका कारण कैयौं नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौं परिवार विस्थापित भएको बैंकले जनाएको छ । बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पु¥याएको बैंकको भनाइ छ ।
बैंकका अनुसार सहयोग रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रदान गर्न लागिएको हो ।
बैंकले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ । बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्मा बैंकले सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । ग्लोबल आइएमई बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ ।
बैंकका अनुसार हाल ३४१ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ ।