बिहिबार, भाद्र ११ २०८३

बिहिबार, भाद्र ११ २०८३

एफडब्लूसीएमएसमा सूचीकृत २५ मेनपावरमाथि कारबाही तथा छानबिन अघि बढ्यो

बुधबार, भाद्र १० २०८३

काठमाडौं(जस)–मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ वटा मेनपावरमाथि वैदेशिक रोजगार विभागले प्रारम्भिक कारबाही तथा छानबिन प्रक्रिया अघि बढाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्देशन तथा व्यवसायीहरूको दबाबपछि विभागले एफडब्लूसीएमएसमा सूचीकृत २५ वटा इजाजतपत्रवाला संस्थाका सम्बन्धमा कारबाही प्रक्रिया अघि बढाएको हो ।
संघका उपाध्यक्ष तथा संयोजक विभाग समन्यवय समिति संयोजक (सिन्डिकेट विरुद्धको संघर्ष समिति) लक्ष्मण पौडेलका अनुसार विभागले ती २५ व्यवसायीले मलेसियाबाट प्राप्त मागपत्रमा पूर्वस्वीकृतिका लागि आफ्नो कम्पनीको एफडब्लूसीएमएस प्रोफाइल प्रयोग गर्दा नियमित काम नभई समस्या देखाउने सन्देश आउने बनाएको जानकारी दिएको छ । यसबाट ती कम्पनीले तत्काल काम गर्न नसक्ने अवस्था सिर्जना भएको जनाइएको छ । विभागले सम्बन्धित कम्पनी सञ्चालकहरूलाई बोलाएर लिखित जवाफ लिने तथा आवश्यकताअनुसार थप कारबाही अघि बढाउने जानकारी संघलाई दिएको पौडेलले बताएका छन् ।
यसैबीच, संघले एफडब्लूसीएमएसमा सूचीकृत २५ वटा संस्थाको विषयलाई केवल मलेसियामा सीमित समस्या नभई श्रमिक भर्ना प्रक्रियामा देखिएको व्यापक समस्याका रूपमा लिएको जनाएको छ । संघले समान समस्या भोगिरहेका अन्य गन्तव्य मुलुकका वैदेशिक रोजगार व्यवसायी तथा सरोकारवालासँग समेत एक्यबद्धता कायम गरी समान एजेन्डा उठाउने र समन्वय गर्ने काम अघि बढाइरहेको जनाएको छ । संघका महासचिव हिरा बहादुर डाँगी ‘हरी’का अनुसार विषयको दीर्घकालीन तथा स्थायी समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित कूटनीतिक संयन्त्रमार्फत पहल भइरहेको छ । मलेसिया सरकार तथा सम्बन्धित निकायसँग संवाद र द्विपक्षीय संयन्त्रमार्फत सबै इजाजतपत्रवाला व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण सुनिश्चित गराउन संघ सक्रिय रहेको उनले बताएका छन् ।
संघका अनुसार एफडब्लूसीएमएसमा सूचीकृत २५ संस्थामध्ये २३ वटा संस्थाले आफूहरू उक्त प्रक्रियामा संलग्न नरहेको स्पष्ट पार्दै आफ्नो नाम सूचीबाट हटाउन कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन् । ती संस्थाले भविष्यमा समेत त्यस्तो प्रक्रियामा संलग्न नरहने प्रतिबद्धतासहितको पत्र मन्त्रालय र संघसमक्ष पेश गरिसकेका छन् । संघले उक्त विषयमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रसारित अपुष्ट सूचना र अफवाहको पछि नलाग्न व्यवसायीहरूलाई आग्रह गरेको छ । आधिकारिक सूचना तथा निर्णयका आधारमा मात्र विषयबारे धारणा बनाउन संघले अनुरोध गरेको छ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्या समाधानका लागि सरकार र व्यवसायीबीच समन्वय आवश्यक रहेको भन्दै संघले सबै इजाजतपत्रवाला व्यवसायीलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार