बिहिबार, भाद्र ११ २०८३

बिहिबार, भाद्र ११ २०८३

गत वर्ष २३ खर्ब ६३ अर्ब रेमिटयान्स भित्रियो : विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, शोधनान्तर बचत १० खर्ब नाघ्यो

बुधबार, भाद्र १० २०८३

काठमाडौं(जस)–गत आर्थिक वर्ष २०८२र८३ मा नेपालले साढे २३ खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह अघिल्लो आवको तुलनामा ३७.१ प्रतिशतले बढ्दै २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार २०८३ असारमा मात्रै नेपालमा २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।
अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । यस आधारमा एक वर्षको अवधिमा असारमा मात्रै विप्रेषण आप्रवाह ५३ अर्ब २२ करोड रुपैयाँले बढेको छ । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह उल्लेख्य बढेको छ । समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद द्वितीय आय अर्थात् खुद हस्तान्तरण रकम २५ खर्ब ८१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
विप्रेषण आप्रवाह बढेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने उत्तारचढाव देखिएको छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६ हजार ५१९ रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो संख्या ५ लाख ५ हजार ९५७ थियो। यसैगरी, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३ लाख ८५ हजार ७८३ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ३३ हजार ३०९ रहेको थियो ।
मुद्रास्फीति ५.१४ प्रतिशत पुग्यो
नेपालमा उपभोक्ता मुद्रास्फीति दर बढेको छ । २०८३ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्ष २०८२ असारमा यस्तो मुद्रास्फीति २.२० प्रतिशत रहेकोमा गत आवको असारमा यो बढ्दै ५ प्रतिशत नाघेको हो । यद्यपि, आर्थिक वर्ष २०८२र८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४.०६ प्रतिशतभन्दा कम हो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थतर्फ घ्यू तथा तेलको मूल्य १०.५ प्रतिशत, फलफूलको ७.०९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ३.२८ प्रतिशत बढेको छ । तरकारीको मूल्य सूचकाङ्क ३.९५ प्रतिशत, मरमसला ३.६६ प्रतिशत तथा दाल तथा गेडागुडी ३.४१ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १७.६१ प्रतिशत, शिक्षा ७.०४ प्रतिशत, यातायात ५.८० प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५६ प्रतिशत बढेको छ । बीमा तथा वित्तीय सेवाको सूचकाङ्क भने ०.०१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८२र८३ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति १.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो ४.६९ प्रतिशत थियो । असारमा भने खाद्य तथा पेय पदार्थको बिन्दुगत मुद्रास्फीति ५.२५ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.२१ प्रतिशत रहेको छ । क्षेत्रगत रूपमा वार्षिक औसत मुद्रास्फीति काठमाडौँ उपत्यकामा ३.१६, तराईमा ३.२८, पहाडमा २.८१ र हिमालमा २.७३ प्रतिशत रहेको छ ।
असारमा तराईमा सबैभन्दा बढी ५.६३ प्रतिशत र हिमालमा सबैभन्दा कम ४.०४ प्रतिशत मुद्रास्फीति रहेको छ ।प्रदेशगत रूपमा वार्षिक औसत मुद्रास्फीति कोशीमा ३.७७, मधेशमा ३.६५, लुम्बिनीमा ३.२९, बागमतीमा २.७९, कर्णालीमा २.६०, गण्डकीमा २.५९ र सुदूरपश्चिममा २.०५ प्रतिशत रहेको छ । यसैगरी, असारमा थोक मुद्रास्फीति ६.६७ प्रतिशत पुगेको छ । आर्थिक वर्षको वार्षिक औसत थोक मुद्रास्फीति ४.२७ प्रतिशत रहेको छ । तलब तथा ज्यालादर सूचकाङ्क पनि वार्षिक औसतमा ५.७९ प्रतिशतले बढेको छ । असारमा यसको बिन्दुगत वृद्धि ६.७० प्रतिशत रहेको छ । प्रदेशगत रूपमा गण्डकीमा तलब तथा ज्यालादर सबैभन्दा बढी ११.३२ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १.२६ प्रतिशत बढेको छ । भारतमा सन् २०२६ जुलाईमा उपभोक्ता मुद्रास्फीति ४.४५ प्रतिशत रहेकाले असारमा नेपालको मुद्रास्फीति भारतभन्दा ०.६९ प्रतिशत बिन्दुले बढी देखिएको छ ।
शोधनान्तर बचत १० खर्ब नाघ्यो
नेपालको बाह्य क्षेत्र थप बलियो बन्दै गएपछि गत आर्थिक वर्ष २०८२र८३ मा नेपालको चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्रय बैंकले हालै सार्वजनिक गरेको गत आवको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेकोमा गत आवमो बढ्दै ९ खर्ब नाघेको हो । अमेरिकी डलरमा समेत चालु खाताको बचत उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ३ अर्ब १ करोड डलरले बचतमा रहेको चालु खाता समीक्षा वर्षमा ६ अर्ब ३३ करोड डलरले बचतमा रहेको छ । समीक्षा वर्षमा खुद पुँजीगत हस्तान्तरण पनि बढेको छ । यस्तो हस्तान्तरण १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा खुद पुँजीगत हस्तान्तरण ९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत इक्विटीका रूपमा २८ अर्ब ४९ करोड रुपैयाँ नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी १२ अर्ब २ करोड रुपैयाँ मात्रै रहेको थियो । यस आधारमा एक वर्षमा इक्विटीमार्फत भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४७ करोड रुपैयाँले बढेको छ । समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति पनि उच्च बचतमा रहेको छ । आर्थिक वर्ष २०८२÷८३ मा शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर बचत अघिल्लो वर्षको ४ अर्ब ३७ करोड डलरबाट बढेर समीक्षा वर्षमा ७ अर्ब ५ करोड डलर पुगेको छ ।
विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक
नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेर ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । एक वर्षमा विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले बढेको हो । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति ४३.८ प्रतिशतले बढेर ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति पनि ६१.४ प्रतिशतले बढेर ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२र८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात तथा १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिएको छ । ०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६३.८ प्रतिशत, कुल आयातसँगको अनुपात १६३.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपात क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार