काठमाडौँ(जस)–नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ ।
निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो । त्यसरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न र राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्न निगमले आग्रह गरेको छ । निगमले आफ्नो आग्रहविपरीत कतै ग्यास सिलिन्डर अनावश्यक रूपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
यसैबीच उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल ¥याडिसनमा छापा मारेको छ । विभागका अनुसार छापा मार्दा होटलमा १ सय ८४ वटा ग्यास सिलिन्डर फेला परेको छ । पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् ।
विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको विभागले जनाएको छ । उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ ।