काठमाडौं(जस)–मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा बढेको छ । गत आार्थिक वर्ष २०८२–८३ को असार मसान्तसम्म बैंकले १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको असार समान्तको तुलनामा १२.४४ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म यस बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा बैंकले खुद ब्याज आम्दानी सामान्य बढाउन सफल भएको छ भने इम्पेरमेन्ट चार्ज घटाउन सफल भएको छ । जसको कारण बैंकको खुद नाफामा सुधार देखिएको हो । गत आवमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेर ४ ऋबर्् ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी ४ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेर ५४ करोड ९८ लाख १७ हजार रुपैयाँमा झरेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशत बढेर ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ । गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ ।
८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा कम्पनीको कर्जा ३।३८ प्रतिशत बढेको हो । बैंकको निक्षेप भने समीक्षा अवधिमा ५।२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।