काठमाडौं,मलेसिया रोजगारी क्षेत्रमा पुनः सिण्डिकेट (एकाधिकार) प्रणाली लागू गराउने प्रयास भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरू आक्रोशित बनेका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी विभिन्न वैदेशिक रोजगारसम्बद्ध संघ संस्थाका प्रतिनिधिहरूले सिण्डिकेटको कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट गर्दै आवश्यक परे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
कार्यक्रममा बोल्दै एसोसियसनका महासचिव सुमनराज पाण्डेले सीमित व्यक्तिको स्वार्थ पूरा गर्न मलेसिया रोजगारीलाई पुनः सिण्डिकेटको घेरामा लैजान खोजिएको आरोप लगाए। उनले वैदेशिक रोजगारीलाई पारदर्शी, प्रतिस्पर्धात्मक र व्यवसायमैत्री बनाउनुपर्ने बेला केही समूहले व्यक्तिगत लाभका लागि एकाधिकार कायम गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताए।
उनले मलेसिया रोजगारीमा सिण्डिकेट लागू गरिए त्यसको प्रत्यक्ष असर व्यवसायी, वैदेशिक रोजगारीमा जाने श्रमिक तथा समग्र रोजगार प्रणालीमा पर्ने उल्लेख गर्दै त्यस्तो कदमविरुद्ध लोकतान्त्रिक एसोसियसन कुनै पनि हालतमा चुप लागेर नबस्ने चेतावनी दिए। उनका अनुसार यस विषयमा सरोकारवाला निकायसँग छलफल सुरु गरिएको छ भने आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ।
एसोसियसनले वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि सिण्डिकेटको प्रयासविरुद्ध स्पष्ट र प्रभावसमयमैकारी भूमिका खेल्नुपर्ने माग गरेको छ। यदि संघले ठोस पहल नगरे लोकतान्त्रिक एसोसियसन एक्लै भए पनि आन्दोलनको नेतृत्व गर्न तयार रहेको महासचिव पाण्डेले बताए।
उक्त कार्यक्रममा एसोसियसनका कार्यवाहक अध्यक्ष सुबर्ण लामाले वैदेशिक रोजगार क्षेत्रलाई सीमित समूहको नियन्त्रणमा राख्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताए। उनले सिण्डिकेटविरुद्ध व्यवसायीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै यस विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए।
छलफलमा एसोसियसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, कुमुद खनाल, दीपक थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङ, संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चकी उपाध्यक्ष सरिता घले, नेपाल वैदेशिक रोजगार व्यवसायिक गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका कार्यवाहक अध्यक्ष मीनप्रसाद गोलेलगायत विभिन्न व्यवसायिक तथा जातीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले मलेसिया रोजगारीलाई फेरि सिण्डिकेटको नियन्त्रणमा लैजान खोजिए त्यसले स्वस्थ प्रतिस्पर्धा, व्यवसायिक स्वतन्त्रता र श्रमिकको हितमाथि गम्भीर असर पार्ने भन्दै सरकारले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने माग गरेका छन्। उनीहरूले वैदेशिक रोजगार क्षेत्रलाई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउँदै श्रमिक र व्यवसायी दुवैको हित संरक्षण हुने नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।