काठमाडौं, साउन १२ — राप्ति नगरपालिका–१० अन्तर्गत रहेको चेपाङ समुदायमा स्वच्छ ऊर्जा प्रवर्द्धन, घरभित्रको वायु प्रदूषण न्यूनीकरण, स्वास्थ्य सुधार तथा वातावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको, सुधारिएको चुलो (Improved Cooking Stove) वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। Youth-Led Initiative अन्तर्गत सञ्चालित यस कार्यक्रममार्फत सुधारिएको चुलो हस्तान्तरण गरिएको हो, जसबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा २२५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ।
चेपाङ समुदायमा अझै पनि परम्परागत खुला चुलोको प्रयोग व्यापक रहेकाले खाना पकाउने क्रममा निस्कने धुवाँका कारण विशेषगरी महिला, ज्येष्ठ नागरिक तथा बालबालिका घरभित्रको वायु प्रदूषणबाट बढी प्रभावित हुने गरेका छन्। यस अवस्थालाई मध्यनजर गर्दै स्थानीय समुदायसँगको समन्वय, क्षेत्रीय अध्ययन तथा आवश्यकता मूल्याङ्कनका आधारमा लाभग्राही परिवारहरूको छनोट गरिएको हो।
कार्यक्रम अन्तर्गत वितरण गरिएको सुधारिएको चुलोले परम्परागत चुलोको तुलनामा कम दाउरा प्रयोग गर्ने, कम धुवाँ उत्सर्जन गर्ने तथा इन्धनको दक्ष उपयोग गर्ने विशेषता बोकेको छ। यसको प्रयोगबाट घरभित्रको वायु प्रदूषणमा कमी आउनुका साथै दाउराको खपत घट्ने, खाना पकाउने समय बचत हुने, वन संरक्षणमा योगदान पुग्ने तथा घरपरिवारको स्वास्थ्य र आर्थिक अवस्थामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।
कार्यक्रमको विशेष पक्षका रूपमा लाभग्राही घरधुरीहरूमा सुधारिएको चुलो वितरणअघि घरभित्रको वायु गुणस्तरको आधारभूत (Baseline) अध्ययन समेत गरिएको थियो। यस क्रममा PM₂.₅, कार्बन डाइअक्साइड (CO₂), तापक्रम, आर्द्रता तथा अन्य आवश्यक वायु गुणस्तर सूचकहरूको मापन गरिएको छ। प्रारम्भिक अध्ययनबाट केही घरहरूमा PM₂.₅ को औसत सान्दर्भिक मात्रा 1200 µg/m³, CO₂ को औसत मात्रा 2200 ppm तथा अन्य प्रदूषकहरूको स्तर पनि स्वास्थ्यका दृष्टिले चिन्ताजनक रहेको देखिएको छ।
सुधारिएको चुलो प्रयोगमा आएपछि यही घरधुरीहरूमा पुनः वायु गुणस्तर परीक्षण (Post-Installation Monitoring) गरी PM₂.₅, CO₂ तथा अन्य प्रदूषकहरूको स्तरमा आएको परिवर्तनको वैज्ञानिक मूल्याङ्कन गरिनेछ। यस अध्ययनबाट सुधारिएको चुलोले घरभित्रको वायु प्रदूषण घटाउन, स्वास्थ्य जोखिम न्यूनीकरण गर्न तथा स्वच्छ ऊर्जा प्रवर्द्धनमा पुर्याएको वास्तविक प्रभाव प्रमाणित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम Protal Consultancy & Engineering Solution को प्राविधिक सहकार्य तथा Global Youth Mobilization (GYM) र European Union को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रम कार्यान्वयनका क्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, स्वयंसेवक तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता र सहयोगले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रमका संयोजकले भन्नुभयो, “सुधारिएको चुलो वितरण गर्नु मात्र हाम्रो उद्देश्य होइन। स्वच्छ ऊर्जा प्रवर्द्धन गर्दै घरभित्रको वायु प्रदूषण कम गर्ने, महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने, दाउराको खपत घटाई वन संरक्षणमा योगदान पुर्याउने र वैज्ञानिक तथ्यांकका आधारमा यसको प्रभाव मूल्याङ्कन गर्ने हाम्रो दीर्घकालीन लक्ष्य हो।”
यस कार्यक्रमबाट निम्न प्रमुख उपलब्धिहरू हासिल हुने अपेक्षा गरिएको छः
• ७५ जना प्रत्यक्ष तथा १५० जना अप्रत्यक्ष लाभान्वित।
• घरभित्रको वायु प्रदूषण (PM₂.₅, CO₂ लगायत) मा उल्लेखनीय कमी।
• दाउराको खपतमा अनुमानित ६० % कमी।
• खाना पकाउने समयमा अनुमानित ५० % बचत।
• महिला तथा बालबालिकाको धुवाँमा हुने प्रत्यक्ष सम्पर्कमा कमी।
• वन संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरणमा सकारात्मक योगदान।
• वैज्ञानिक तथ्यांकका आधारमा सुधारिएको चुलोको प्रभाव मूल्याङ्कन गर्ने नमुना (Evidence-based Model) को विकास।
आयोजकले यस कार्यक्रमबाट प्राप्त अनुभव र तथ्यांकका आधारमा भविष्यमा अन्य ग्रामीण तथा सीमान्तकृत समुदायमा पनि यस्ता स्वच्छ ऊर्जा प्रवर्द्धन कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ। साथै, स्थानीय सरकार, विकास साझेदार संस्था तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै सुधारिएको चुलो, स्वच्छ ऊर्जा र घरभित्रको वायु गुणस्तर सुधारका क्षेत्रमा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
सामुदायिक सहभागिता, युवा नेतृत्व, वैज्ञानिक प्रमाणमा आधारित योजना र विभिन्न संस्थाहरूबीचको प्रभावकारी साझेदारीको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको यस पहलले ग्रामीण तथा सीमान्तकृत समुदायमा स्वच्छ ऊर्जा, सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र दिगो विकास प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।