शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

कांग्रेसको ‘नवीन अभियान’ घोषणा, भाषणमा मात्र होइन, गाउँ–गाउँमा जनतासँग जोडिने संकल्प

शुक्रबार, साउन ८ २०८३

काठमाडौं । नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसर पारेर पार्टीलाई नयाँ ढङ्गले पुनर्गठित गर्ने उद्देश्यका साथ ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ (एनसी फर एनसी) को घोषणा गरेको छ ।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई केवल राजनीतिक भाषण र चुनावी जोडघटाउमा मात्र सीमित नराखी तल्लो तहका नागरिकको सुख-दुःखको साथी बनाउने संकल्प व्यक्त गरेका छन् ।
पार्टीका सभापति गगन थापाले सार्वजनिक गरेको यो अभियान आगामी भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्तीका दिनदेखि देशभर औपचारिक रूपमा शुभारम्भ हुनेछ । अभियानको घोषणा गर्दै थापाले अबको कांग्रेस केवल सत्ता र शक्तिको वरिपरि मात्र नघुमी समाजको सिर्जनशील रूपान्तरणमा केन्द्रित हुने दाबी गरे । उनले यो अभियानले कांग्रेसलाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने विश्वास व्यक्त गरे ।
थापाका अनुसार यो अभियानका मुख्य पाँचवटा कार्यक्षेत्र निर्धारण गरिएका छन्, जसमा कांग्रेसका हरेक नेता र कार्यकर्ता प्रत्यक्ष सहभागी हुनुपर्नेछ । अभियानको पहिलो खम्बाका रूपमा सामुदायिक सेवालाई अघि सारिएको छ । यसअन्तर्गत कांग्रेस कार्यकर्ताहरूले समाजमा प्रत्यक्ष देखिने गरी रक्तदान, वृक्षारोपण, वातावरणीय सरसफाइ र विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्नेछ । यति मात्र होइन, गाउँस्तरका विद्यालय र सार्वजनिक पूर्वाधारहरूको मर्मत-सम्भारमा श्रमदान गर्ने र विपद्को समयमा समुदायलाई सचेत र सुरक्षित राख्न अग्रसर हुनुपर्ने कार्यतालिका बनाइएको छ ।
यसैगरी, अभियानले नागरिक संवादलाई अर्को महत्वपूर्ण प्राथमिकतामा राखेको छ । पार्टीले अब समाजका विभिन्न वर्ग, विशेषगरी युवा, महिला, किसान र पेसागत समूहहरूसँग उनीहरूका समस्या र अपेक्षाबारे प्रत्यक्ष छलफल गर्नेछ । यस्ता संवादबाट आएका निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी सरकारलाई नीति निर्माणमा सुझाव दिने र पार्टीको आगामी कार्यदिशा तय गर्ने लक्ष्य राखिएको छ । नागरिकहरूलाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत गराउन संवैधानिक साक्षरता अभियान चलाउने र नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्ने विषयलाई पनि कांग्रेसले आफ्नो कार्यसूचीमा समेटेको छ ।
स्थानीय स्तरमा रहेका विशिष्ट समस्याहरूको समाधान खोज्नका लागि नवप्रवर्तन र सिर्जनशील काममा जोड दिइने थापाले बताए । यसमा युवाहरूको उद्यमशीलतालाई प्रोत्साहन गर्ने, सामुदायिक पुस्तकालयहरू स्थापना वा सुदृढीकरण गर्ने र सार्वजनिक स्थलहरूको व्यवस्थापनमा रचनात्मक भूमिका खेल्ने योजना समावेश छ । साथै, सरकारी सेवा प्रवाहमा सर्वसाधारणले भोग्नुपरेको झन्झट अन्त्य गर्न कांग्रेस कार्यकर्ताहरूले ‘सहजीकरण केन्द्र’ का रूपमा काम गर्नेछन् । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सेवा दिलाउन सहयोग गर्ने र स्थानीय सरकारका कामहरूको ‘वाचडग’ का रूपमा अनुगमन गर्ने जिम्मेवारी पनि पार्टीले कार्यकर्तालाई सुम्पेको छ ।
कार्यक्रममा थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तिखो प्रहार गरे । सुशासनको नारा दिएर संवैधानिक निकायहरूलाई नियन्त्रणमा राख्न खोजेको भन्दै उनले कडा आपत्ति जनाए । प्रधानमन्त्रीलाई कालो चस्मा र कालो वस्त्र लगाउने व्यक्तिगत स्वतन्त्रता भए पनि ‘काला कर्तुत’ गर्ने छुट नभएको भन्दै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता स्वतन्त्र निकायलाई सरकारको सचिवालयको छाया बनाउन खोजिएको आरोप लगाए । उनले सरकार संविधानप्रति उत्तरदायी छ कि छैन भन्ने गम्भीर प्रश्न उठेको भन्दै यस्ता विषयमा कांग्रेसले संसद्मा पनि सशक्त आवाज उठाउने चेतावनी दिए ।
पार्टीको आन्तरिक राजनीतिका सन्दर्भमा बोल्दै थापाले आफूमाथि हुने आलोचना र गालीगलौजलाई बेवास्ता गर्दै पार्टी सुधारको मार्गमा अविचलित लाग्ने बताए । उनले कांग्रेसलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए । यसै अवसरमा थापाले विगत लामो समयदेखि पार्टीमा योगदान पुर्‍याएका र हाल बिरामी अवस्थामा रहेका नेता गोपालमान श्रेष्ठलाई ‘वरिष्ठ नेता’ बनाइएको घोषणा गरे । यो निर्णयलाई आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराइने जानकारी पनि उनले दिए ।
उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको मतभेद र आलोचनालाई स्वाभाविक रूपमा लिन कार्यकर्तालाई आग्रह गरे । कसैले विरोध गर्‍यो भन्दैमा ढुङ्गा हान्ने वा आक्रोश पोख्ने प्रवृत्तिले गन्तव्यमा पुग्न नसकिने भन्दै उनले संयमता र धैर्यताको खाँचो रहेको बताए । बीपी कोइरालाको मेलमिलाप र सहिष्णुताको दर्शनलाई आत्मसात् गर्दै कांग्रेसले अब आन्तरिक झगडा छोडेर विचार र नीतिको राजनीतिमा केन्द्रित हुनुपर्ने शर्माको भनाइ थियो ।
यसैगरी, महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई नेपालकै सबैभन्दा ठूलो र पहिलो पूर्ण डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको जानकारी दिए । हालसम्म करिब ८ लाख सदस्यको विवरण डिजिटल माध्यमबाट अद्यावधिक भइसकेको र अब कांग्रेसका हरेक सदस्यको आफ्नै डिजिटल परिचयपत्र हुने उनले बताए । सदस्यता वितरणमा हुने विवाद अन्त्य गर्न नयाँ सदस्यहरूले अब सिधै अनलाइनबाट सदस्यता लिन सक्ने र उम्मेदवार छनोटमा समेत तल्लो तहका सदस्यहरूको राय लिने गरी ‘प्रारम्भिक निर्वाचन’ को पद्धति बसाल्न खोजिएको पौडेलले उल्लेख गरे ।
बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले सार्वजनिक गरेको यो नवीन अभियानले पार्टीभित्र नयाँ ऊर्जा सञ्चार गर्ने अपेक्षा गरिएको छ । केवल सत्ताको गणितमा अल्झिएको आरोप लागिरहेका बेला कांग्रेसले नागरिकका आधारभूत समस्या र सामाजिक रूपान्तरणलाई आफ्नो मुख्य एजेन्डा बनाएर अघि बढ्ने संकल्प गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार