काठमाडौं,नेपाल मुस्लिम समाज कतारका प्रतिनिधिहरूले नेपालस्थित कतारको दूतावासमा पुगेर कतारका पूर्व अमिर हिज हाइनेस शेख हमद बिन खलिफा अल थानीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना पुस्तिकामा हस्ताक्षर गरेका छन ।
समाजका अध्यक्ष इस्माइल पन्तको नेतृत्वमा दूतावास पुगेको प्रतिनिधिमण्डलमा मोहम्मद अबुबकर सिद्दिकी उद्दिन क्युसामी (क्वाजि एण्ड मुफ्ती) अफ काठमाडौ लगायतको सहभागिता रहेको थियो। प्रतिनिधिमण्डलले कतारका अमिर, शाही परिवार, सरकार तथा सम्पूर्ण कतारी जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो।
सो अवसरमा अध्यक्ष इस्माइल पन्तले स्वर्गीय पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको दूरदर्शी नेतृत्व, विकासप्रेमी सोच र राष्ट्र निर्माणप्रतिको समर्पणले आधुनिक कतारलाई विश्वकै अग्रणी तथा समृद्ध राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, “स्वर्गीय हिज हाइनेस शेख हमद बिन खलिफा अल थानीको निधनले कतारले मात्र होइन, विश्व समुदायले एक दूरदर्शी र प्रभावशाली नेतृत्व गुमाएको छ। उहाँप्रति नेपाल मुस्लिम समाज कतारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा हिज हाइनेस अमिर शेख तमिम बिन हमद अल थानी, शाही परिवार, कतार सरकार तथा सम्पूर्ण कतारी जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। नेपाली समुदायप्रति कतारले देखाएको सद्भाव, अवसर र सम्मानप्रति हामी सदैव कृतज्ञ छौं। नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दछौं।”
प्रतिनिधिमण्डलले दूतावासमा रहेको समवेदना पुस्तिकामा हस्ताक्षर गर्दै दिवंगत पूर्व अमिरप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। साथै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै कतार राज्यमा शान्ति, स्थायित्व, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरिएको समाजले जनाएको छ।
अल्लाहले दिवंगत आत्मामाथि आफ्नो असीम रहमत वर्षाउँदै उहाँलाई जन्नतुल फिरदौसमा सर्वोच्च स्थान प्रदान गरून भन्दै समाजले बिज्ञपति बुझाएको हो ।


