काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र विगतमा भएको सहमति कार्यान्वयन र संस्थागत एकताको विषयमा बहस चर्किरहेका बेला एनआरएनएका पूर्वउपाध्यक्ष तथा प्रभावशाली अभियन्ता डीबी क्षेत्रीले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
एनआरएनए मध्यपूर्वदेखि विश्वव्यापी अभियानसम्म निर्णायक प्रभाव राख्ने व्यक्तिहरूमध्ये एक मानिने क्षेत्रीले विगतमा भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै वर्तमान नेतृत्वले हिजो भएको सहमति तोड्ने प्रयास नगर्ने बताएका छन्।
विश्वभर रहेका गैरआवासीय नेपाली, एनआरएनए आईसीसी तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, अभियन्ता र सदस्यहरूलाई सम्बोधन गर्दै क्षेत्रीले पछिल्लो समय आफूलाई पनि ‘एनआरएनएमा भएको सहमति पालना भएन, तपाईं किन मौन बस्नुभयो ?’ भन्ने प्रश्न, गुनासा र आरोप आउने गरेको बताएका छन्।
उनले आफूले ती प्रश्नलाई गम्भीरतापूर्वक सुन्दै आएको र सबै गुनासा तथा आलोचनालाई सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका छन्।
क्षेत्रीका अनुसार सहमति कुनै औपचारिक कागज वा तत्कालीन परिस्थितिको सम्झौता मात्र होइन, दुई इमानदार पक्षबीचको विश्वासको आधार हो। आफ्नो वचन आफैंले तोड्नु स्वाभिमानी र इमानदार व्यक्तिको चरित्र नहुने भन्दै उनले सहमतिको मूल भावना जोगाउनुपर्ने धारणा राखेका छन्।
‘सहमति भनेको दुई इमानदार पक्षबीच हुने विश्वासको आधार हो। आफ्नो वचन आफैंले तोड्ने कुनै स्वाभिमानी र इमानदार व्यक्तिले सहमति गर्दैन भन्ने विश्वासका साथ नै सहमति गरिन्छ,’ क्षेत्रीले भनेका छन्।
उनले एनआरएनएमा भएको पछिल्लो सहमति पनि सबै पक्षबीचको विश्वास र संस्थागत एकताको आधारमा भएको भन्दै त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्।
‘आज पनि मेरो विश्वास कायमै छ,’ क्षेत्रीले भनेका छन्, ‘सायद केही बाध्यता वा सबै पक्षलाई समेट्ने प्रयासमा कार्यसमितिले अपेक्षित रूपमा निर्णय गर्न सकेन होला। वा कसै-कसैले आफूअनुकूल टोली बनाउने प्रयास गरेको जस्तो देखिएको हुन सक्छ। यी सबै विषयमा बुझ्न र बुझाउन अझै संवाद आवश्यक छ।’
एनआरएनएभित्रको पछिल्लो विवादमा आफूले प्रत्यक्ष हस्तक्षेप नगरेको विषयमा समेत क्षेत्रीले आफ्नो धारणा स्पष्ट पारेका छन्। आफू जिम्मेवार राजनीतिक दलको नेतृत्व तहमा रहेको व्यक्ति भएकाले संस्थाको दैनिक गतिविधिमा प्रत्यक्ष हस्तक्षेप गर्नु आफ्नो भूमिका नभएको उनले बताएका छन्।
तर, एनआरएनएको अभियानप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धता भने कहिल्यै कम नभएको उनको भनाइ छ।
‘मैले पार्टीमा जति जिम्मेवारीका साथ काम गरेको छु, त्यत्तिकै समर्पणका साथ एनआरएनएको अभियानमा पनि योगदान दिएको छु। त्यसैले तपाईंहरूको अपेक्षा, प्रश्न र आलोचनालाई म अस्वीकार गर्दिनँ,’ क्षेत्रीले भनेका छन्।
एनआरएनएभित्रको विवादलाई केवल नेतृत्वको विवादका रूपमा मात्र हेर्न नहुने क्षेत्रीको धारणा छ। संस्थाले आफ्नो विधान, उद्देश्य र जिम्मेवारीअनुसार नेपाल, नेपाली, लोकतन्त्र, मानवअधिकार तथा प्रवासी नेपालीका साझा हितमा अपेक्षित भूमिका निर्वाह गर्न सकेको छ कि छैन भन्ने विषयमा अब गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उनले बताएका छन्।
‘समस्या संस्थामा मात्र हो कि हामी आफैं पनि धेरै टाढा पुगेका छौं ?’ भन्ने प्रश्नमा सबैले गहिरिएर सोच्नुपर्ने समय आएको क्षेत्रीको भनाइ छ।
एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय र स्पष्ट तथा प्रस्ट धारणा राख्ने अभियन्ताका रूपमा परिचित क्षेत्रीले अहिलेको आवश्यकता गुटगत ध्रुवीकरण र आरोप–प्रत्यारोप नभएको बताएका छन्।
उनका अनुसार अहिले संस्थालाई थप विभाजित गर्ने होइन, विगतका सहमति र प्रतिबद्धताको सम्मान गर्दै संवाद, सहकार्य र एकताको माध्यमबाट एनआरएनएलाई सही दिशामा अघि बढाउने समय हो।
‘जे-जस्तो अवस्था भए पनि अहिले आरोप–प्रत्यारोपभन्दा सहकार्य, संवाद र संस्थालाई सही दिशामा अघि बढाउने समय हो,’ क्षेत्रीले भनेका छन्।
एनआरएनएमा विगतको सहमति कार्यान्वयनको विषयमा विभिन्न पक्षबाट प्रश्न उठिरहेका बेला क्षेत्रीको यो धारणा महत्वपूर्ण मानिएको छ। विशेषगरी संस्थाभित्रको लामो विवाद अन्त्य गरी सहमतिको आधारमा अघि बढ्नुपर्ने आवाज बलियो भइरहेका बेला उनले वर्तमान नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सहमतिको मर्म कायम राख्नुपर्ने सन्देश दिएका छन्।
एनआरएनएलाई व्यक्तिगत स्वार्थ, गुटगत प्रतिस्पर्धा र शक्ति संघर्षभन्दा माथि उठाएर संस्थागत एकता र प्रवासी नेपालीको साझा हितमा केन्द्रित गर्नुपर्ने क्षेत्रीको सन्देश छ।
उनको धारणा स्पष्ट छ—सहमति तोडेर होइन, सहमतिको सम्मान गरेर मात्र एनआरएनए बलियो बन्न सक्छ।