शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

युविका भण्डारीको प्यानलबाट नाट्टा सचिवमा श्रद्धा जोशीको उम्मेदवारी

१२ वर्षको पर्यटन अनुभवदेखि संस्थागत नेतृत्वसम्मको यात्रालाई चुनावी एजेन्डा बनाउँदै जोशी मैदानमा

बुधबार, साउन ६ २०८३

काठमाडौं,नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा सचिव पदका लागि पर्यटन व्यवसायी श्रद्धा जोशीले उम्मेदवारी दिनुभएको छ। उहाँ अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानलबाट चुनावी मैदानमा उत्रिनुभएको हो।
पर्यटन व्यवसायमा विगत १२ वर्षदेखि सक्रिय जोशीसँग व्यावसायिक क्षेत्रसँगै शिक्षा, महिला उद्यमशीलता, सामाजिक विकास तथा संस्थागत नेतृत्वको समेत लामो अनुभव छ। पर्यटकीय नगरी धरानमा जन्मिनुभएकी जोशीले बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ।
पर्यटन क्षेत्रमा प्रवेश गर्नुअघि शिक्षिकाका रूपमा काम गर्नुभएकी जोशीले विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत शिक्षा, महिला सशक्तीकरण, सामाजिक विकास तथा समुदायसँग सम्बन्धित क्षेत्रमा समेत काम गर्नुभएको छ। विभिन्न क्षेत्रमा हासिल गरेको यही अनुभवलाई पर्यटन क्षेत्रको विकासमा उपयोग गर्ने उद्देश्यसहित उहाँ लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहँदै आउनुभएको हो।
पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल उद्योग परिसंघ (सीएनआई) ले जोशीलाई उत्कृष्ट पर्यटन उद्यमी पुरस्कार प्रदान गरिसकेको छ। उहाँले महिला उद्यमी महासंघ नेपालको कार्यकारिणी समिति सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
नाट्टाको कार्यसमितिमा एक कार्यकाल काम गरिसकेको संस्थागत अनुभवसमेत जोशीसँग रहेको छ। यसका कारण नाट्टाका सदस्यहरूले भोगिरहेका समस्या, पर्यटन व्यवसायका चुनौती, संस्थागत आवश्यकताका साथै सुधार गर्नुपर्ने विषयलाई आफूले नजिकबाट बुझेको उहाँको भनाइ छ।
जोशीले आन्तरिक पर्यटनलाई नेपालको पर्यटन उद्योगको प्रमुख आधार बनाउनुपर्ने धारणा राख्दै आउनुभएको छ। नेपाली नागरिकमा घुम्ने संस्कृतिको विकास गर्न सके त्यसले पर्यटन व्यवसायको विस्तारसँगै स्थानीय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको विश्वास छ।
नाट्टाको आगामी निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानलले अनुभव, नयाँ सोच र कार्यान्वयन क्षमताको संयोजनलाई प्राथमिकतामा राखेको छ। उक्त प्यानलबाट महासचिव पदमा कृष्णप्रसाद ढकालसहित पर्यटन क्षेत्रमा अनुभवी, ऊर्जाशील र परिणाममुखी व्यक्तित्वहरू चुनावी मैदानमा छन्।
युविका भण्डारी नेतृत्वको प्यानलले नाट्टालाई अझ व्यवस्थित, पारदर्शी, प्रभावकारी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने एजेन्डा अघि सारेको छ। सदस्यहरूको आवाजलाई सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने, प्रविधिको प्रयोगमार्फत सदस्यहरूबीचको समन्वय बढाउने तथा पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि सरकारी र निजी क्षेत्रसँग सहकार्य विस्तार गर्ने प्यानलको प्रतिबद्धता छ।
सचिव पदकी उम्मेदवार श्रद्धा जोशीले आफूले हासिल गरेको ज्ञान, अनुभव र संस्थागत दक्षतालाई नाट्टाको हितमा पूर्ण रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
“नाट्टा पर्यटन व्यवसायीहरूको साझा संस्था हो। यसको नेतृत्व सदस्यका समस्या र व्यवसायका चुनौतीसँग प्रत्यक्ष जोडिनुपर्छ। नाट्टालाई अझ सक्रिय, पारदर्शी, सदस्यकेन्द्रित र परिणाममुखी बनाउन आफ्नो अनुभव र क्षमतालाई पूर्ण रूपमा उपयोग गर्ने मेरो प्रतिबद्धता हो,” जोशीको भनाइ छ।
अनुभव, व्यावसायिक दक्षता, सामाजिक क्षेत्रमा हासिल गरेको नेतृत्व क्षमता र नाट्टाभित्रको संस्थागत अनुभवलाई आधार बनाउँदै चुनावी मैदानमा उत्रिनुभएकी जोशीको उम्मेदवारीले युविका भण्डारी नेतृत्वको प्यानललाई थप बलियो बनाएको देखिएको छ।
नाट्टाको निर्वाचनमा अब उम्मेदवारहरूको व्यक्तिगत अनुभवसँगै उनीहरूले अघि सारेका एजेन्डा, संस्थागत दृष्टिकोण र कार्यान्वयन क्षमतामाथि पर्यटन व्यवसायीहरूको ध्यान केन्द्रित भएको छ। युविका भण्डारी नेतृत्वको प्यानलले अनुभवसँगै नयाँ सोच र परिणाममुखी नेतृत्वलाई आफ्नो मुख्य आधार बनाउँदै चुनावी अभियान अघि बढाइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार