काठमाडौं(जस)–नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधनमन्त्री शेरबहादुर देउवाले आफू स्वदेश फर्किने बताएका छन् । हाल विदेशमा रहेका उनले कहिले फर्किने भन्नेबारे भने केही बताएका छैनन् । जेनजी आन्दोलनपछि आक्रमणमा परेका उनी उपचारको नाममा विदेश रहेकै बेला नेपालमा कानुनी फन्दामा छन् । यही कानुनी झमेलाका कारण उनी विदेशमै अलमलिरहेका बेला स्वदेश फर्किने बताएका हुन् ।
उनले मंगलबार एक वक्तव्य जारी गर्दै यस्तो बताएपनि देशको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा देउवाले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको दाबी गरेका छन् । ‘आज फरक विचारप्रति असहष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग भइरहेको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ’राजनीतिक पूर्वाग्रहका आधारमा दमन गर्ने र प्रतिपक्षलाई दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुँदैन ।’
देउवाले सरकारले स्वतन्त्र न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्, ’न्यायपालिका र अख्तियारलाई कार्यकारी नियन्त्रणमा राखेर प्रतिपक्षलाई तर्साउने औजार बनाउन खोजिँदै छ ।’ यस्तो परिस्थितिमा लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसले थप जिम्मेवार भूमिका खेल्नुपर्ने उनले उल्लेख गरेका छन् ।
विगत ६ दशकदेखि लोकतन्त्रका लागि संघर्ष गरेको चर्चा गर्दै देउवाले आफू जेल र राजनीतिक दमनका बीच पनि कहिल्यै विचलित नभएको बताएका छन् । उनले बीपी कोइरालाको ’मेलमिलापको नीति’ अहिलेको समयमा झनै आवश्यक रहेको औंल्याएका छन् । २०३३ सालमा बीपीले व्यक्तिगत सुरक्षाभन्दा राष्ट्रलाई माथि राखेर स्वदेश फर्किएको इतिहासलाई उनले अहिलेको राजनीतिक सन्दर्भसँग जोडेका छन् । देउवाले देशलाई अहिले विभाजन र निषेधको राजनीति नभई एकता र सहकार्यको खाँचो रहेको बताएका छन् । ’देशलाई अहिले विभाजन होइन एकता चाहिएको छ, प्रतिशोध होइन सहकार्य चाहिएको छ,’ उनले भनेका छन् । इतिहासबाट प्राप्त अनुभव र नयाँ पुस्ताको क्षमतालाई जोडेर राष्ट्र निर्माणको साझा संकल्प गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
विदेशमा रहँदा पनि आफू निरन्तर देश र जनताको चिन्तामा रहेको बताउँदै देउवाले अब पुनः नेपाली भूमिमा फर्किन लागेको जानकारी दिएका छन् । उनले नेपाली जनताको लोकतान्त्रिक चेतनामाथि आफ्नो पूर्ण विश्वास रहेको भन्दै संविधानवाद र समाजवादको पक्षमा दृढतापूर्वक उभिन नागरिक समाज र युवा पुस्तालाई आग्रह गरेका छन् । ’सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म जनताको लोकतान्त्रिक चेतनामाथि पूर्ण भरोसा राख्छु,’ देउवाले भनेका छन् । उनले आफ्नो निष्ठा र प्रतिबद्धतामा कुनै सम्झौता नगर्ने समेत बताएका छन् । देउवा परिवारसहित हाल हङकङमा रहेको विश्वास गरिन्छ ।