शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : एमाले अध्यक्ष ओली

आइतबार, साउन ३ २०८३

काठमाडौँ(जस)–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन् । आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू भएपनि अहिले बनेको सरकारको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको आरोप लगाए ।
उनले भने, ‘अहिलेको राजनीति परिभाषाविहीन राजनीति चलिरहेको छ । दिशाविहीन राजनीति, नीतिविहीन राजनीति, थितिविहीन राजनीति त्यस ढंगको राजनीति चलिरहेको छ । लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोडफोड, कब्जा, असंवैधानिक जस्ता कुराहरू हुँदैनन्। अहिले बनेको सरकार, यसको प्रारम्भ नै मान्छे मार्ने, मराउने, षड्यन्त्र गराउनेबाट सुरु भएको सरकार हो ।’
ओलीले लोकप्रियताको नाममा पपुलिज्मको भद्दा अभ्यास भइरहेको पनि टिप्पणी गरे । उनले भने, ‘यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ ।’ उनले सामाजिक सञ्जालमा दर्ता, उत्तरदायित्व र जवाफदेहिताको अभावका कारण निराधार तथा असत्य सूचना फैलाएर समाजमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको बताए ।
ओलीले लोकप्रियता हासिल गर्ने नाममा ’पपुलिज्म’ को भद्दा अभ्यास भइरहेको उल्लेख गर्दै त्यसले समाज र राजनीतिमा विकृति बढाएको धारणा राखे । उनले उनले भने, ‘सामाजिक सञ्जालले असामाजिक ढंगले काम गर्ने र समाजमा भयानक ढंगले विकृति फैलाउने। सामाजिक सञ्जालबाट स्वस्थ बहस हुन सक्छन्। तर कोही उत्तरदायी नहुने, दर्ता हुन नपर्ने, जवाफदेहिता हुनु नपर्ने, प्रतिनिधित्व लिन नपर्ने र निराधार, असत्य कुराहरू यसबाट प्रचार गर्ने, भ्रम फैलाउने काम भयो ।’
सरकारले कानुन दुरुपयोग गर्न सक्ने जोखिम छ ः शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चालु वर्षमा डेढ सयभन्दा बढी कानुन संशोधन गर्ने तयारी गरेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गर्दै कानुन सुधारका नाममा दुरुपयोग हुन सक्ने जोखिमप्रति सचेत हुनुपर्ने बताए ।
‘कानुनमा सुधार र संशोधन आवश्यक हुन्छ । तर जुन दृष्टिकोणका साथ सरकार अघि बढिरहेको छ, त्यसले गर्ने हेरफेर कानुन सुधारका लागि हो कि दुरुपयोगका लागि हो भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने । उनले कानुनको दुरुपयोग गर्दै स्वेच्छाचारी र अधिनायकवादी ढंगले राज्य सञ्चालन गर्ने जोखिम बढेको दाबी गरे । महासचिव पोखरेलले वर्तमान सरकारको कार्यसम्पादनप्रति पनि असन्तुष्टि व्यक्त गरे । ‘कामबाहेक केही नगर्ने भन्ने प्रधानमन्त्रीको शासनमा विद्युत् आपूर्तिको पीडा बेहोर्दै हामी कार्यक्रम सुरु गर्दैछौँ । यसले पनि काम कसरी भइरहेको छ भन्ने देखाउँछ,’उनले भने ।
उनले भर्चुअल माध्यममा सरकारको चर्चा भए पनि वास्तविक रूपमा जनताले अनुभूति गर्ने गरी काम हुन नसकेको बताए । लोकप्रिय जनादेश पाएको सरकारबाट जनता आश्वस्त हुनुपर्नेमा सन्त्रस्त बन्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । पोखरेलले यस्तो परिस्थितिमा एमाले संसदीय दलको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘भर्चुअल दुनियाँमा त धेरै चर्चा–परिचर्चा छ, तर वास्तविक रूपमा यथार्थतामा काम कसरी–कसरी भइरहेको छ भन्ने कुरा आम नागरिकहरूले महसुस गर्ने गरी कुनै काम हुन सकेको छैन । जनताले अत्यन्त लोकप्रिय जनादेश दिइसकेपछिको सरकारबाट जनता आश्वस्त हुने होइन, सन्त्रस्त बन्ने खालको जो परिवेश सिर्जना भएको छ, त्यो परिवेशभित्र हामी हाम्रो संसदीय दलको काम प्रभावकारी बनाउन सक्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार