काठमाडौं(जस)–नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले दुई वर्ष कैद सजाय भोग्नु पर्ने भएको छ । मंगलबार जिल्ला अदालत, काठमाडौँले खाणलाई २० हजार जरिवानसहित २ वर्ष कैद सजाय सुनाएको हो । नक्कली भुटानी शरणार्थीसम्बन्धी सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइ पछि जिल्ला अदालतले सजाय तोकेको हो । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो । उनलाई ठगीमा एक वर्ष कैद र १० हजार जरिवाना गरिएको छ ।
त्यस्तै, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकिएको छ । यसैगरी, राज्य विरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार जरिवाना तोकिएको जिल्ला अदालतको फैसालमा उल्लेख गरिएको छ । यससँगै थप तीन महिना कैद तोकिएको छ । अदालतले एकीकृततर्फ दुई वर्ष कैद र २० हजार जरिवाना तोकेको छ । सबैभन्दा बढी एकीकृत कसुरमा सजाय तोकिएकाले उनले दुई वर्ष कैद र २० हजार जरिवाना भोग्नुपर्ने भएको छ ।
यस्तै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ । न्यायाधीश खड्काको इजलासले सजाय तोके अनुसार रायमाझीले ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद भोग्नु पर्ने भएको छ । यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको हो । उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।
शरणार्थी प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डेलाई ४ बर्ष जेल सजायँ तोकिएको छ । खड्काको इजलासले सजाय सुनाए अनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय भोग्नु पर्ने भएको छ । पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको हो । एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको फैसालामा उल्लेख गरिएको छ । उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् ।
यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद तोकिएको छ । रिजाललाई २ बर्ष कैदसहित २० हजार जरिवाना तोकेको हो । जसअनुसार सरकारी लिखत कीर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ, ठगी मुद्दामा एक वर्ष कैद र १० हजार, संगठित अपराधमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको हो । जसअनुसार एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिवाना गरिएको फैसालामा उल्लेख छ ।
यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाका मुख्य योजनाकार मानिएका केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायधिस तेजबहादुर खडकाले सो प्रकरणमा दोषी ठह¥याइएका १६ जना मध्ये दुलाल र भण्डारीलाई ४ बर्ष समान कैद सजायँ तोकिदिएका हुन् । जसअनुसार सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार, ठगीमा २ वर्ष कैद र २० हजार, संगठित अपराधमा ३ बर्ष कैद र ३० हजार, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना तिर्नु पर्ने भएको हो । जसअनुुसार सबै कसुरको एकीकृततर्फमा कुल ४ वर्ष ४० हजार कैद जिल्ला अदालत, काठमाडौंले जनाएको छ । दुवै जना पुर्पक्षका लागि हाल थुनामा रहेका छन् ।