काठमाडौं(जस)–नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई सम्बन्धित निकायको नेतृत्वको जिम्मेवारी दिइएको हो । नवनियुक्त अध्यक्षद्वयले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् । दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले सोही दिन पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षलाई बधाई दिँदै परिणाममुखी र प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । उनले सिफारिस समितिले निष्पक्ष, न्यायपूर्ण र परिणाममुखी रूपमा काम गर्न सक्ने विश्वासका आधारमा अध्यक्ष चयन गरेको उल्लेख गर्दै सूचना तथा सञ्चार क्षेत्रको विकासमा उदाहरणीय भूमिका निर्वाह गर्न आग्रह गरे । मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताए । उनले वर्तमान समयमा गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) सञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै त्यसको पहिचान र समाधानमा काउन्सिलले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
उनले सञ्चार क्षेत्रलाई थप सुदृढ बनाउन पुराना कानुन समयानुकूल परिमार्जन गरिने जानकारी दिँदै मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकमाथि छलफल अघि बढिसकेको बताए । साथै प्रेस काउन्सिललाई थप सक्षम, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । दूरसञ्चार क्षेत्रको महत्वबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले नागरिकको हित र सेवाको गुणस्तरलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । आवश्यक नीतिगत तथा संस्थागत सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि उनले स्पष्ट पारे ।
नवनियुक्त प्रेस काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले सञ्चारमाध्यमको स्वरूप परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भएकाले त्यसलाई समयानुकूल संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारितामा स्वनियमनको प्रणालीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहेको बताए । श्रेष्ठले सरकार र सञ्चार क्षेत्रबीच विश्वासको पुलका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा काउन्सिल सक्रिय रहने बताए ।
त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रमा रहेका विद्यमान समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कानुन, नियम र नीतिको परिधिभित्र रहेर दूरसञ्चार सेवा विस्तार, सुशासन र सेवाको गुणस्तर सुधारमा ध्यान केन्द्रित गर्ने बताए । अध्यक्ष घिमिरेले नागरिकमुखी, उत्तरदायी र प्रभावकारी दूरसञ्चार प्रणाली निर्माणका लागि सञ्चार मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै सेवाग्राहीमैत्री सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।