काठमाडौँ(जस)–चालू आर्थिक वर्ष २०८२/८३ को एघार महिनाको अवधिमा मुलुकको अर्थतन्त्रमा रेमिट्यान्स (विप्रेषण) को योगदान उल्लेख्य देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको समीक्षा प्रतिवेदनले रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार आएसँगै वैदेशिक मुद्राको सञ्चिति र शोधनान्तर स्थिति समेत मजबुत देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा पनि रेमिट्यान्समा २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको तथ्याङ्क छ । जेठ महिनामा मात्रै २ खर्ब ३ अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ, जुन नेपाली अर्थतन्त्रको लागि ठूलो राहतको विषय बनेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्यामा केही गिरावट आए तापनि भित्रिने रकममा भएको वृद्धिले अर्थतन्त्रलाई गतिशील बनाएको छ ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या केही कम भए पनि डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुनु र हुन्डी जस्ता अवैध कारोबारमा आएको कडाइका कारण औपचारिक माध्यमबाट भित्रिने रकम बढेको अनुमान गरिएको छ । रेमिट्यान्सको बलियो प्रवाहकै कारण मुलुकको बाह्य क्षेत्र सन्तुलन अत्यन्त सकारात्मक देखिएको छ । प्रतिवेदनका अनुसार शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ७१ अर्ब ४४ करोड मात्र बचतमा थियो । त्यसैगरी चालू खाता पनि ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँले बचतमा रहेको छ, जसले मुलुकको अन्तर्राष्ट्रिय भुक्तानी क्षमता सुदृढ भएको पुष्टि गर्दछ ।
विदेशी मुद्रा सञ्चितिमा पनि यो वर्ष नयाँ रेकर्ड कायम भएको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिति २४ अर्ब ६८ करोड पुगेको छ । अहिले रहेको यो सञ्चितिले १९.१ महिनाको वस्तु आयात र १५.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । महँगीको पाटोमा भने उपभोक्ताले केही राहत महसुस गरेका छन् । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष २.७२ प्रतिशत थियो । यद्यपि, चालू आर्थिक वर्षको ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको देखिन्छ । खाद्य तथा पेय पदार्थ समूहको तुलनामा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि केही बढी देखिएको छ ।
व्यापारिक क्षेत्रमा भने आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ । समीक्षा अवधिमा कुल वस्तु निर्यात १२.३ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ७९ करोड पुगेको छ भने आयात १५.२ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब १० करोड पुगेको छ । जसका कारण कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड पुगेको छ । यस्तो व्यापार घाटालाई रेमिट्यान्सले नै धानेको देखिन्छ । बैंकिङ क्षेत्रमा निक्षेप परिचालन १०.३ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले मात्र बढेको छ । यसले बजारमा तरलता पर्याप्त भए पनि लगानीको वातावरण अझै पूर्ण रूपमा सुदृढ हुन नसकेको सङ्केत गर्दछ । तर, ब्याजदरमा भने उल्लेख्य गिरावट आएको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२९ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशतमा झरेको छ ।