शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

सुकुमबासीलाई पीडामाथि पीडा, प्राकृतिक विपत्तिले फेरि विस्थापित

आइतबार, असार २८ २०८३

काठमाडौँ । वाग्मती नदीमा आएको बाढीले कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टर जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका सुकुमबासी फेरि एकपटक संकटमा परेका छन्।

केही महिनाअघि नदी किनारका बस्ती हटाइएपछि सुरक्षित बसोबासको आशामा होल्डिङ सेन्टर पुगेका उनीहरू प्राकृतिक विपत्तिले फेरि विस्थापित हुनुपरेको भन्दै राज्यप्रति आक्रोशित छन्।

शुक्रबार मध्यरातपछि लगातारको वर्षासँगै वाग्मती नदीको बहाव बढेपछि पानी होल्डिङ सेन्टरभित्र पस्न थालेको थियो। निद्रामै रहेका अधिकांश परिवारले पानीको सतह बढेपछि मात्र अवस्था थाहा पाए। केहीबेरमै बस्ने ठाउँ जलमग्न बनेपछि उनीहरू ज्यान जोगाउने कि वर्षौंदेखि जोडेको सामान बचाउने भन्ने दोधारमा परे।

स्थानीयवासीले विभिन्न निकायमा खबर गरेपछि प्रहरीसहितको उद्धार टोली डुङ्गा लिएर घटनास्थल पुगेको थियो। त्यसपछि केही परिवारलाई सुरक्षित स्थानमा सारियो। तर धेरैको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, ओछ्यान र दैनिक जीवनका अत्यावश्यक सामग्री बाढीमा डुबेर नष्ट भए। अहिले पनि कतिपय आफन्तकहाँ आश्रय लिइरहेका छन् भने केही होल्डिङ सेन्टर आसपासमै बस्न बाध्य छन्।

बाढीको पानी घटेपछि होल्डिङ सेन्टर हिलो र लेदोले भरिएको छ। भित्र राखिएका सामानहरू माटोले पुरिएका छन्। बचाउन सकिने सामान खोज्दै मानिसहरू हिलो खोतलिरहेका देखिन्छन्। कतिपय भने सबैथोक गुमेपछि निराश भएर टोलाइरहेका छन्। वर्षा अझै नरोकिएकाले फेरि बाढी आउने त्रास उनीहरूमा कायमै छ।

होल्डिङ सेन्टरमा बस्दै आएकी मेनुका गुरुङका अनुसार सुरक्षित राखिएको खाद्यान्न, बालबालिकाका लागि छुट्याइएको खाना र लुगाफाटा सबै पानीले बगायो। नदी किनारको पुरानो बस्तीबाट सुरक्षित स्थानमा सार्ने आश्वासन दिएर ल्याइए पनि अहिले झन् ठूलो संकटमा परेको उनको गुनासो छ। पर्याप्त पूर्वतयारी नगरी स्थानान्तरण गरिएकै कारण अहिले यस्तो अवस्था आएको भन्दै उनले सुरक्षित र दीर्घकालीन व्यवस्थापनको माग गरिन्।

उनले आफूहरूलाई पुरानो बस्ती हटाउँदा सामानसमेत व्यवस्थित गर्न नदिइएको स्मरण गर्दै अहिले बाँकी रहेको थोरै सम्पत्तिसमेत बाढीले नष्ट गरेको बताइन्। आफूहरू पनि यही देशका नागरिक भए पनि राज्यबाट समान व्यवहार नपाएको उनको भनाइ छ।

अर्की सुकुमबासी गीता लामाका लागि यो विपत्ति झन् कठिन बनेको छ। बाढीले घरायसी सामानसँगै बिरामी श्रीमान्ले नियमित सेवन गर्ने औषधि पनि बगाएको उनले बताइन्। औषधिको नाम र पुर्जासमेत हराएकाले उपचार कसरी निरन्तर गर्ने भन्ने चिन्ता थपिएको छ। एकातिर सानो बच्चाको हेरचाह र अर्कोतिर बिरामी श्रीमान्को जिम्मेवारीले उनी थप समस्यामा परेकी छन्।

विस्थापनपछि नियमित आम्दानीसमेत गुमेकाले नयाँ सामान किन्न वा औषधि जुटाउन आर्थिक अवस्था कमजोर रहेको उनले सुनाइन्। अहिले त्रिपालमुनि बस्नुबाहेक अर्को विकल्प नरहेको भन्दै सरकारले तत्काल राहतसँगै सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने उनको माग छ।

होल्डिङ सेन्टरमै बस्दै आएकी रस्मिला उप्रेतीको अवस्था पनि फरक छैन। स्वास्थ्य समस्याका कारण नियमित औषधि सेवन गरिरहेकी उनको औषधि पनि बाढीले नष्ट गरिदिएको छ। रातारात आएको बाढीका कारण ज्यान जोगाउनमै व्यस्त हुँदा आवश्यक सामग्री निकाल्न नपाएको उनले बताइन्।

राजकुमार माझीले पनि आफूले खानपिन र औषधिका लागि जोहो गरेर राखेका सबै सामग्री बाढीले बगाएको बताए। आर्थिक अवस्था कमजोर भएकाले फेरि सबै व्यवस्था गर्न कठिन भएको उनको भनाइ छ। पहिले बस्ती हटाइँदा रोजगारी र बसोबास गुमेको, अहिले बाँकी रहेको सम्पत्तिसमेत नष्ट भएपछि भविष्यप्रति अन्योल बढेको उनले बताए।

सुकुमबासीहरू अहिले तत्काल राहतभन्दा पनि सुरक्षित, स्थायी र सम्मानजनक बसोबासको माग गरिरहेका छन्। उनीहरूको भनाइमा राज्यको निर्णयले एकपटक विस्थापित बनायो भने प्राकृतिक विपत्तिले फेरि सबैथोक खोस्यो। त्यसैले अब अस्थायी व्यवस्थाभन्दा दीर्घकालीन समाधान आवश्यक भएको उनीहरूको जोड छ।

यसैबिच कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियानीमध्ये दुई जना छुटेका छन्। त्यसै क्रममा प्रहरीको कुटपिटबाट घाइते भएका एक जनालाई थप उपचार निम्ति टिचिङ अस्पताल लगिएको छ।

धरपकडमा जेनजी मुभमेन्ट अलायन्सका माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले लछारपछार गरी नियन्त्रणमा लिएको थियो। यी तीन जनामध्ये सरिश्मा र नहेन्द्रलाई रिहा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार