आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल बाल संगठन (बाल मन्दिर) ठगी प्रकरणमा तीन जना पक्राउ, अनुसन्धान जारी

बिहिबार, असार २५ २०८३

काठमाडौं। नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको भनिएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७, प्रहरी प्रतिवेदन तथा जाहेरीका आधारमा नेपाल सरकार वादी र आशा श्रेष्ठसमेत प्रतिवादी रहेको ठगी सम्बन्धी कसूर मुद्दाको अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

प्रहरीका अनुसार नेपाल बाल संगठन (बाल मन्दिर) बाट अनियमित रूपमा रकम लिई ठगी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो। यसका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले मिति २०८३ असार २४ गते विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा नेपाल बाल संगठन, केन्द्रीय कार्यालय बाल मन्दिर, नक्सालमा तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख रहेकी ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।

प्रहरीले पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई ठगी सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाल बाल संगठनसँग सम्बन्धित आर्थिक अनियमितताको विषयमा यसअघि उच्चस्तरीय जाँचबुझ आयोगले विस्तृत अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाएको थियो। सोही प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा पछिल्लो पक्राउ प्रक्रिया अघि बढाइएको हो। प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षहरूको भूमिकासमेत अनुसन्धानको दायरामा रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार