काठमाडौं,युरोपेली मुलुक पोल्यान्डमा पहिलोपटक ‘नेपाल फेस्टिबल–२०२६’ आयोजना हुने भएको छ। पोल्यान्डको ऐतिहासिक सहर पोजनानमा आगामी जुलाई ११ मा आयोजना हुने महोत्सवले नेपाली कला, संस्कृति, भाषा, परम्परा तथा पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रवर्द्धन गर्दै नेपालको मौलिक पहिचान उजागर गर्ने लक्ष्य लिएको छ।
हामी नेपाली ग्लोबल–पोल्यान्डको आयोजनामा पोजनानस्थित इम्पेरियल क्यासल (Imperial Castle) मा हुने महोत्सव शनिबार बिहान ११ः३० बजेदेखि सुरु हुनेछ। आयोजकका अनुसार पोल्यान्डसमेत कार्यक्षेत्र रहेको जर्मनीका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुनेछ। कार्यक्रममा पोल्यान्ड सरकारको संस्कृति विभाग, नेपाल चेम्बर अफ कमर्स, स्थानीय सरकारी निकाय, कूटनीतिक समुदाय तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।
महोत्सवमा पोल्यान्डभर रहेका नेपालीलाई राष्ट्रिय झण्डासहित सहभागी भई नेपालको राष्ट्रिय एकता, सांस्कृतिक गौरव र पहिचानलाई विश्वसामु प्रस्तुत गर्न आयोजकले आग्रह गरेको छ।
आयोजक संस्था हामी नेपाली ग्लोबल–पोल्यान्डकी अध्यक्ष शान्ति श्रेष्ठका अनुसार महोत्सव दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा पोजनानस्थित सेन्ट्रुम कुल्टुरे जामेक (Centrum Kultury ZAMEK) बाट नेपाली राष्ट्रिय झण्डासहित सांस्कृतिक र्याली निकालिनेछ। र्यालीमा नेपाली मौलिक नृत्य, जातीय झाँकी, सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा तथा नेपाली संगीतमार्फत सहरका मुख्य सडक र चोक परिक्रमा गरिनेछ।
दोस्रो चरणमा दिउँसो १ः३० बजे इम्पेरियल क्यासलको मुख्य सभाहलमा औपचारिक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा कार्यवाहक राजदूत फुयाँल, पोल्यान्ड सरकारका प्रतिनिधि, विभिन्न कूटनीतिक नियोग, प्रवासी नेपाली तथा पोलिस नागरिकहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
अध्यक्ष श्रेष्ठले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सभ्यताको धनी राष्ट्र भएको उल्लेख गर्दै महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको मौलिक संस्कृति, परम्परा, कला, खानपान र पर्यटन सम्भावनाबारे जानकारी गराउनुका साथै नेपाल भ्रमणका लागि प्रेरित गर्ने उद्देश्य रहेको बताइन्। उनका अनुसार यो कार्यक्रम केवल सांस्कृतिक उत्सव मात्र नभई नेपाल र पोल्यान्डबीच जनस्तरको सम्बन्ध अझ सुदृढ बनाउने अवसर पनि हुनेछ।
कार्यक्रम संयोजक **भविन्द्र गाहा मगर (भविन)**ले महोत्सवलाई ऐतिहासिक, व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमिति गठन गरी तीव्र तयारी भइरहेको जानकारी दिए। “हाम्रो लक्ष्य पोल्यान्डमा एक दिनका लागि ‘मिनी नेपाल’को अनुभूति गराउनु हो। नेपालका विभिन्न जातजाति, भाषा, संस्कृति, कला र परम्परालाई एउटै मञ्चबाट विश्वसामु प्रस्तुत गर्ने प्रयास गरेका छौं,” उनले भने।
सन् २०२१ मा पोल्यान्ड सरकारको केआरएस (KRS) मा विधिवत् दर्ता भएको हामी नेपाली ग्लोबल–पोल्यान्ड त्यहाँ क्रियाशील नेपाली संस्थामध्ये एक हो। संस्थाले नेपाली समुदायबीच एकता अभिवृद्धि, सामाजिक सहकार्य, सांस्कृतिक संरक्षण तथा नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धनका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
आयोजकका अनुसार ‘नेपाल फेस्टिबल–२०२६’ पोल्यान्डमा नेपालको सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र नेपाली समुदायको पहिचानलाई थप उचाइमा पुर्याउने ऐतिहासिक कार्यक्रमका रूपमा स्थापित हुने विश्वास गरिएको छ। महोत्सवले नेपाल र पोल्यान्डबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपालप्रतिको अन्तर्राष्ट्रिय आकर्षण अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।