शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

साउदीको एसभिपी कार्यक्रम स्थगन गर्न संघको माग, श्रमिक पठाउने प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्ने चेतावनी

सोमबार, असार २२ २०८३

काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जान चाहने नेपाली श्रमिकका लागि लागू गर्न लागिएको स्किल भेरिफिकेसन प्रोगाम (एसभिपी) प्रति गम्भीर आपत्ति जनाएको छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा एसभिपी कार्यक्रमका नाममा अनिवार्य परीक्षण, अतिरिक्त शुल्क, सीमित निजी संस्थामार्फत सेवा सञ्चालन तथा सम्भावित एकाधिकारले नेपाली श्रमिकमाथि थप आर्थिक भार र शोषण बढाउने उल्लेख गरेको छ ।
संघले नेपाल र साउदी अरबबीच श्रमिक आपूर्ति प्रणाली बिजनेस टु बिजनेस (बिटुबी) मोडलमा आधारित रहेको स्मरण गराउँदै हालसम्म नेपाली वैदेशिक रोजगार व्यवसायी संस्था र साउदी रोजगारदाता कम्पनीबीचको सम्झौताअनुसार श्रमिक आपूर्ति हुँदै आएको जनाएको छ । यस्तो अवस्थामा पर्याप्त छलफल, परामर्श र सहमति बिना सीमित निजी कम्पनीमार्फत नयाँ व्यवस्था जबरजस्ती लागू गर्न खोजिनु अस्वीकार्य भएको संघको भनाइ छ ।
विज्ञप्तिमा नेपाल–साउदी द्विपक्षीय श्रम सम्झौतामा श्रमिकमाथि थप आर्थिक भार सिर्जना गर्ने, अनिवार्य सीप परीक्षणका नाममा अतिरिक्त शुल्क असुल गर्ने वा सीमित सेवा प्रदायकमार्फत एकाधिकार कायम गर्ने व्यवस्था उल्लेख नभएको पनि उल्लेख गरिएको छ । त्यसैले प्रस्तावित एसभिपी कार्यक्रमको कार्यान्वयन श्रम सम्झौताको भावना र मर्मविपरीत रहेको संघले जनाएको छ ।
संघका अनुसार नेपालस्थित साउदी दूतावासले परीक्षण शुल्क रोजगारदाताले व्यहोर्ने बताए पनि व्यवहारमा अन्ततः त्यसको भार श्रमिककै काँधमा पर्ने जोखिम रहेको छ । हाल नै नेपाली श्रमिकहरूले बायोमेट्रिक, अपोइन्टमेन्ट, भिसा स्ट्याम्पिङ लगायत विभिन्न शीर्षकमा अत्यधिक रकम तिर्नुपरेको अवस्था रहेको भन्दै संघले थप परीक्षणका नाममा नयाँ आर्थिक दायित्व थप्नु अन्यायपूर्ण हुने बताएको छ ।
यदि साउदी अरबलाई दक्ष र प्रमाणित श्रमिक आवश्यक भए आफ्नै लगानीमा निःशुल्क तालिम, परीक्षण तथा प्रमाणपत्रको व्यवस्था गर्नुपर्ने वा नेपाल सरकारसँग सहकार्य गरी श्रमिकमैत्री प्रणाली विकास गर्नुपर्ने संघको माग छ । संघले वर्तमान स्वरूपमा प्रस्ताव गरिएको एसभिपी कार्यक्रम स्पष्ट रूपमा अस्वीकार गर्दै यसलाई लागू गर्न खोजिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
आवश्यक परे साउदी अरबमा नेपाली श्रमिक पठाउने प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्न सकिने पनि संघले जनाएको छ । संघका अध्यक्ष डिक बहादुर खत्री (कुमार) र महासचिव हिरा बहादुर डाँगी (हरि) ले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाली श्रमिकको हक, हित, सुरक्षा र संरक्षणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार