काठमाडौं(जस)–नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ले आफ्नो गौरवमय ३३ वर्ष सफलतापूर्वक पूरा गरी ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै विविध कार्यक्रमका साथ स्थापना दिवस भव्य रूपमा मनाएको छ । संघले स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी समाजप्रति आफ्नो दायित्व निर्वाह गर्ने उद्देश्यका साथ विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
यसअन्तर्गत सी आशा फाउन्डेसन अन्तर्गत सञ्चालित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्र, सातदोबाटो, ललितपुर मा आश्रित बालबालिका तथा लाभग्राहीका लागि म्युजिकल इन्स्ट्रुमेन्ट, खेलकुद सामग्री, स्टेशनरी तथा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ । त्यसैगरी, श्रम तथा वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गर्दै शुद्ध पिउने पानीको व्यवस्थापनका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको संघले जनाएको छ । संस्थागत उत्तरदायित्व र सामाजिक सेवाको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको संघको भनाइ छ ।
संघका अध्यक्ष दिकबहादुर खत्रीले ३४औँ वार्षिकोत्सव केवल उत्सवको रूपमा नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा मनाइएको बताए । उनले संघका सदस्य संस्थाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने केही दीर्घकालीन तथा महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्ने तयारी रहे पनि समय अभावका कारण यसपटक घोषणा गर्न नसकिएको जानकारी दिए ।

अध्यक्ष खत्रीले निकट भविष्यमै ती योजनाहरू सार्वजनिक गरिने र त्यसले व्यवसायीहरूको संस्थागत क्षमता अभिवृद्धि, व्यवसायी हित संरक्षण तथा वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । “३४औँ वार्षिकोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्ण सदस्य संस्था, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, संस्थापक, शुभेच्छुक, सरकारी निकाय, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौं,” अध्यक्ष खत्रीले भने ।
उनले आगामी दिनमा पनि वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित संरक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले तीन दशकभन्दा लामो यात्रामा वैदेशिक रोजगार क्षेत्रको संस्थागत विकास, व्यवसायीहरूको अधिकार संरक्षण तथा श्रमिकमैत्री नीतिको पैरवी गर्दै आएको छ । ३४औँ वर्षमा प्रवेशसँगै संघले सामाजिक सेवा, व्यवसायी हित र वैदेशिक रोजगार क्षेत्रको सुधारलाई अझ प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।
