लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखा स्थापनामा सक्रिय पत्रकारहरूले शाखाको स्थापना दिवस मनाउने भएका छन्।
१५ वर्षअघि स्थापना भएको शाखाले हरेक वर्ष जुलाई १० लाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ। शाखाका संस्थापकहरूको मंगलबार सम्पन्न भर्चुअल बैठकले आगामी जुलाई १० तारिख दिउँसो २ बजेदेखि स्थापना दिवस मनाउने निर्णय गरेको हो। बैठकले स्थापना दिवस मनाउन संस्थापक सदस्य बिपिन निरौलालाई संयोजक तोकेको छ।
संयोजक निरौलाका अनुसार महासंघ केन्द्रको परामर्शमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। यूकेमा पत्रकारहरूको संस्था स्थापना गर्ने प्रयास पहिलोपटक सन् २००९ मा गरिएको थियो। तर विभिन्न कारणले त्यो प्रयास सफल हुन सकेन। सन् २०१० मा पुनः गरिएको पहलबाट नै वर्तमान नेपाल पत्रकार महासंघ यूके शाखाको स्थापना भएको हो। स्थापना समय शाखामा ८१ जना पत्रकार आबद्ध थिए भने हाल शाखामा ३९ जना पत्रकार आवद्ध छन्।
शाखाको पहिलो अधिवेशन १४ जनवरी २०१२ मा तत्कालीन केन्द्रीय अध्यक्ष शिव गाउँलेको उपस्थितिमा सम्पन्न भएको थियो।
संस्थापक सदस्यहरू
धर्मराज अधिकारी, नारायण गाउँले, दिनेश परियार, बिपिन निरौला, चिरन शर्मा, नरेश खापाङ्गी मगर, नारायण भण्डारी, हरि कुमार गुरुङ (काजी), मिलन ज्ञानवली, श्याम लुइटेल, होम परियार, रमा लामिछाने, देवी गौतम, ईश्वर रिजाल, बाल मुकुन्द जोशी, शशी पौडेल, नवीन पोखरेल र प्रविन गुरुङ रहेका छन्। शाखाका संस्थापक सल्लाहकार भगिरथ योगी हुन्।
