काठमाडौं(जस)–नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको आगामी नेतृत्व चयनलाई सर्वसम्मत बनाउन अध्यक्ष दीपक थापाले व्यवसायीहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । एसोसिएसनको निर्वाचनसहितको १३औँ साधारणसभा असार ५ गते आयोजना हुँदैछ । उक्त साधारणसभाबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिने कार्यक्रम छ । अध्यक्ष थापाले वर्तमान परिस्थितिमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्व चयन प्रक्रियालाई सहमतिमूलक बनाउन सबै पक्षलाई आग्रह गरेका छन् । उनले सर्वसम्मत रूपमा जुनसुकै उम्मेदवारको नाममा सहमति जुटे पनि आफूले पूर्ण समर्थन गर्ने बताएका छन् ।
उनले सहमति हुन नसके लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचन प्रक्रियामा जानुपर्ने उल्लेख गर्दै चुनावलाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे । सकेसम्म सहमतिमै नेतृत्व चयन हुन सके संस्था र समग्र व्यवसायी समुदायका लागि सकारात्मक सन्देश जाने उनको भनाइ छ । अध्यक्ष पदका आकांक्षीहरूको संख्या बढ्दै गएपछि थापाले विभिन्न पक्षसँग छलफल गरी सहमतिको वातावरण निर्माण गर्ने प्रयास गरिरहेका छन् । अध्यक्ष पदका लागि रामप्रसाद गैरे, सेमन्त न्यौपाने, किशोर केसी, भवानी निरौला र विनोदजंग केसीलगायतको नाम चर्चामा रहेको छ । केही अन्य व्यवसायीले पनि उम्मेदवारी तयारी गरिरहेको स्रोतले जनाएको छ । यस्तै उपाध्यक्ष पदका लागि शिव कार्की, विक्रम श्रेष्ठ, नारायण भुसाललगायतले इच्छा व्यक्त गरेका छन् ।
एसोसिएसनले प्रतिनिधि पठाउने अन्तिम समयसीमा असार २ गते मंगलबार साँझ ५ बजेसम्म निर्धारण गरेको छ । यससँगै नेपाली कांग्रेस निकट विभिन्न वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले सदस्यता नवीकरण तथा प्रतिनिधि छनोट प्रक्रियालाई तीव्रता दिएका छन् । एसोसिएसनका अनुसार विभिन्न जिल्लाबाट प्रतिनिधिहरू आउने क्रम जारी रहेको छ । निर्वाचनबाट अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ८ पदाधिकारी तथा १० सदस्य गरी १९ सदस्यीय कार्यसमिति चयन गरिनेछ । साथै निर्वाचित अध्यक्षलाई थप ४ जना सदस्य मनोनयन गर्ने अधिकार रहने व्यवस्था छ ।
दुई वर्षे कार्यकाल रहने नयाँ कार्यसमितिको चयनसँगै साधारणसभाले वर्तमान कार्यसमितिको प्रगति प्रतिवेदन, संस्थाले गरेका गतिविधिहरूको विवरण तथा पछिल्ला दुई आर्थिक वर्षको आय–व्यय विवरणसहितको वासलातसमेत पारित गर्ने कार्यक्रम रहेको छ । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीहरूको साझा संगठनका रूपमा रहेको एसोसिएसनमा नयाँ नेतृत्व चयनलाई लिएर व्यवसायीहरूबीच चासो बढ्दै गएको छ भने नेतृत्व सहमतिमार्फत चयन हुन्छ वा निर्वाचनबाट टुंगिन्छ भन्ने विषय अहिलेको मुख्य चर्चाको विषय बनेको छ । अध्यक्ष थापाका अनुसार एशिसियसनको सदस्यता रिनो गर्ने अन्तिम समय मङ्गलबार ५ बजे सम्मको लागि राखिएको छ ।