आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विश्वकपमा राजनीति र प्रविधिको पनि चर्चा

शुक्रबार, जेष्ठ २९ २०८३

काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको फिफा विश्वकप २०२६ भव्य उद्घाटन समारोहसँगै सुरु भएको छ। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका छन् भने प्रतियोगिताभर १०४ खेल खेलाइनेछन्।

मेक्सिको सिटीस्थित ऐतिहासिक रंगशालामा आयोजित उद्घाटन समारोहमा ल्याटिन अमेरिकी सङ्गीत, सांस्कृतिक प्रस्तुति र आधुनिक प्रविधिको संयोजन देखिएको थियो। हजारौँ दर्शकको उपस्थितिमा सम्पन्न समारोहमा मेक्सिकन तथा अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए। प्रतियोगिताको आधिकारिक गीत पनि पहिलो पटक सार्वजनिक गरिएको थियो।

विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको नयाँ संस्करणले खेलकुदमात्र होइन, आर्थिक, राजनीतिक र सामाजिक बहसलाई समेत केन्द्रमा ल्याएको छ। विश्वभरका लाखौँ समर्थकको ध्यान अहिले उत्तर अमेरिकातर्फ केन्द्रित भएको छ।

यस पटकको विश्वकपमा उन्नत अर्ध–स्वचालित अफसाइड प्रणाली, सेन्सरयुक्त स्मार्ट बल, विस्तारित भिडियो सहायक रेफ्री (भीएआर) अधिकार तथा समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न नयाँ नियमहरू लागू गरिएका छन्। फिफाका अनुसार यी प्रविधिले खेललाई अझ निष्पक्ष, छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

यद्यपि प्रतियोगिता सुरु हुनुअघि नै विभिन्न विवादले पनि चर्चा पाएको छ। टिकटको मूल्य अत्यधिक बढेको भन्दै समर्थकहरूले असन्तुष्टि जनाएका छन्। फिफाले पहिलो पटक लागू गरेको ‘डाइनामिक प्राइसिङ’ प्रणालीका कारण माग बढेसँगै टिकटको मूल्य पनि बढ्दै गएको छ। यसले सामान्य समर्थकलाई खेल मैदानसम्म पुग्न कठिन बनाएको गुनासो व्यापक रूपमा उठेको छ।

आप्रवासनसम्बन्धी नीतिले पनि विश्वकपअघि चर्चा पाएको छ। सोमाली रेफ्री उमर आर्टनलाई अमेरिकामा प्रवेश अनुमति नदिइएपछि उनको विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो। विश्वकपमा खेल सञ्चालन गर्ने पहिलो सोमाली रेफ्री बन्ने अवसर गुमाएका आर्टनलाई स्वदेश फर्किएपछि भने नायकसरह स्वागत गरिएको छ।

प्रतियोगितामा सहभागी केही टोलीले चोटका कारण प्रमुख खेलाडी गुमाएका छन्। नेदरल्यान्ड्सका डिफेन्डर युरियन टिम्बर र ब्राजिलका राइट ब्याक वेस्ली विश्वकपबाट बाहिरिएपछि सम्बन्धित टोलीलाई सुरुआतमै धक्का लागेको छ।

फिफाले खेलाडीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रत्येक खेलमा अनिवार्य पानी पिउने विश्रामको व्यवस्था गरेको छ। विशेष गरी गर्मीको प्रभावलाई ध्यानमा राखेर लागू गरिएको यो नियमलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। आलोचकहरूले यसलाई व्यावसायिक विज्ञापनसँग जोडिएको निर्णयका रूपमा समेत टिप्पणी गरेका छन्।

उता, मेक्सिको सिटीमा विश्वकप उत्सव चलिरहँदा विभिन्न समूहले विरोध प्रदर्शनसमेत जारी राखेका छन्। शिक्षक सङ्घ, किसान, यातायात मजदुर तथा बेपत्ता व्यक्तिका परिवारले आफ्ना माग राख्दै प्रदर्शन गरेका छन्। केही स्थानमा विश्वकपसँग सम्बन्धित संरचनामाथि समेत विरोध प्रदर्शन भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस पटकको विश्वकप खेलकुद प्रतियोगितामात्र नभई विश्व राजनीतिसँग समेत जोडिएको देखिएको छ। आप्रवासन नीति, मध्यपूर्वको तनाव, यात्रा प्रतिबन्ध तथा विश्व नेताहरूको भूमिकाबारे बहस भइरहेका बेला प्रतियोगिताले विश्वको ध्यान आकर्षित गरेको छ।

फुटबलका नयाँ इतिहास रेकर्ड बन्ने अपेक्षासहित सुरु भएको विश्वकप २०२६ अब आगामी एक महिनाभन्दा बढी समय विश्व खेलकुदको केन्द्रबिन्दु रहनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार