उर्मिला खत्री,संयुक्त राज्य अमेरिकाले नयाँ ‘भिसा बन्ड पाइलट कार्यक्रम’ घोषणा गर्दै केही श्रेणीका विदेशी नागरिकका लागि भिसा प्रक्रियामा नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ । अमेरिकाले यो कार्यक्रममार्फत भिसा दुरुपयोग रोक्ने, नियम उल्लंघन घटाउने तथा समयमै स्वदेश फर्किने संस्कृतिलाई मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार अब भिसा अन्तर्वार्ता पास गरेपछि मात्रै प्रक्रिया पूरा नहुने, बरु योग्य ठहरिएका केही आवेदकले अतिरिक्त धरौटी रकम (Visa Bond) समेत बुझाउनुपर्ने हुन सक्छ । यो कदमलाई अमेरिकाले ‘विश्वसनीय यात्रा व्यवस्थापन’ को नयाँ मोडेलका रूपमा प्रस्तुत गरेको छ ।अमेरिकी कन्सुलर अधिकारीले भिसा अन्तर्वार्ता सफलतापूर्वक सम्पन्न गरेका र कार्यक्रमअन्तर्गत योग्य मानिएका आवेदकलाई विशेष सूचना, भुक्तानी निर्देशिका तथा सीधा लिंक उपलब्ध गराउनेछन् । सूचना प्राप्त गरेपछि सम्बन्धित आवेदकले ३० दिनभित्र तोकिएको बन्ड रकम अनिवार्य रूपमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था राखिएको छ ।
बन्ड रकम भुक्तानी सम्पन्न भएपछि मात्रै आवेदकले अधिकतम तीन महिनासम्म मान्य हुने ‘सिंगल इन्ट्री’ (एकपटक प्रवेश गर्न मिल्ने) भिसा प्राप्त गर्नेछन् । यस्तो भिसा लिएका यात्रुले व्यापारिक हवाई मार्ग (Commercial Port of Entry) बाट मात्रै अमेरिकामा प्रवेश गर्न पाउने प्रावधान तय गरिएको छ ।
अमेरिकी प्रशासनले स्पष्ट पारेअनुसार, भिसा धारकले अमेरिकामा अवैध रूपमा काम नगरेको, तोकिएको अवधिभित्र स्वदेश फर्किएको तथा भिसाका सम्पूर्ण शर्त पालना गरेको अवस्थामा धरौटी रकम स्वतः फिर्ता हुने छ । तर, यदि भिसाको दुरुपयोग भएको, समयसीमा नाघेर बसेको वा अन्य नियम उल्लंघन भएको पाइएमा बन्ड रकम जफत हुन सक्ने संकेत गरिएको छ । यसलाई अमेरिकाले भिसा प्रणालीलाई थप जिम्मेवार र अनुशासित बनाउने प्रयास का रूपमा व्याख्या गरेको छ ।
नयाँ व्यवस्थापछि अमेरिका जान तयारीमा रहेका नेपाली विद्यार्थी, पर्यटक तथा अल्पकालीन भ्रमणमा जाने आवेदकबीच ‘के नेपालका नागरिक पनि यो व्यवस्थाभित्र पर्छन् ?’ भन्ने चासो बढेको छ । यद्यपि, अमेरिकी दूतावासले कुन–कुन देश वा आवेदक समूहमा यो कार्यक्रम लागू हुन्छ भन्ने विषय केस–टु–केस आधारमा निर्धारण हुने जनाएको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो कार्यक्रमले भिसा नियमको पालना सुनिश्चित गर्ने, गैरकानुनी बसाइ कम गर्ने तथा आवागमन प्रणालीलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीका लागि आवेदकहरूले अमेरिकी दूतावासको आधिकारिक वेबसाइट वा कन्सुलर सेवा विभाग मार्फत जानकारी लिन सक्ने जनाइएको छ ।