शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

वैदेशिक रोजगार व्यवसायीको अधिकार र सुधारका लागि कृष्ण ढकालको तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी,ढकालद्वारा व्यवसायी हित, संस्थागत एकता र पारदर्शी नेतृत्वको प्रतिबद्धता

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट कृष्ण ढकाल ले तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रहँदै आएका ढकालले व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सम्मान, संस्थागत सुदृढीकरण तथा वैदेशिक रोजगार क्षेत्रको सुधारलाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
संघका सदस्यसमेत रहेका ढकालले निर्वाचनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई वैदेशिक रोजगार क्षेत्रको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्। उनले व्यवसायीहरूले भोगिरहेका समस्या, चुनौती र जटिलतालाई नजिकबाट बुझेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि संघभित्रबाट सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवारी घोषणा गर्दै ढकालले वैदेशिक रोजगार क्षेत्र पछिल्लो समय विभिन्न नीतिगत अस्पष्टता, प्रशासनिक जटिलता, व्यवसायिक असुरक्षा तथा संस्थागत चुनौतीबाट प्रभावित भइरहेको बताए। यस्ता समस्याको समाधानका लागि व्यवसायीमैत्री नीति, प्रभावकारी समन्वय र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

उनले व्यवसायीहरूको हक, हित र सम्मानको संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता बनाएको उल्लेख गर्दै वैदेशिक रोजगार व्यवसायीहरूलाई राज्यका साझेदारका रूपमा स्थापित गर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। व्यवसायीको पेशागत सुरक्षा, अधिकार र सम्मानका विषयमा निरन्तर आवाज उठाउने तथा सम्बन्धित निकायसँग समन्वय गरी समाधान खोज्ने उनको प्रतिबद्धता छ।

ढकालले संघभित्र एकता, सहकार्य र आपसी विश्वासलाई थप मजबुत बनाउँदै संस्थालाई सबै व्यवसायीहरूको साझा चौतारीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र व्यवसायी समुदायको हितलाई केन्द्रमा राखी काम गर्ने अठोट व्यक्त गरेका छन्।

उनका अनुसार संघको गरिमा र प्रभावकारिता बढाउन पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व अपरिहार्य छ। त्यसका लागि संघको निर्णय प्रक्रिया, कार्यशैली र गतिविधिलाई थप सहभागितामूलक र व्यवसायीमैत्री बनाउन आवश्यक रहेको उनले बताएका छन्।

कृष्ण ढकालले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र सम्मानित व्यवसायका रूपमा स्थापित गर्न सरकार, व्यवसायी र श्रमिकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे। वैदेशिक रोजगार क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको दिगो विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको धारणा छ।

आसन्न निर्वाचनमा तृतीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका ढकालले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई आफ्नो उम्मेदवारीप्रति विश्वास व्यक्त गर्दै समर्थन र सहयोग गर्न आग्रह गरेका छन्। उनले व्यवसायीहरूको अधिकार संरक्षण, संस्थागत सुदृढीकरण र वैदेशिक रोजगार क्षेत्रको समग्र सुधारका लागि आफू निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

वैदेशिक रोजगार व्यवसायी वृत्तमा मिलनसार, इमानदार, स्पष्ट वक्ता र व्यवसायीका साझा मुद्दामा सक्रिय रूपमा आवाज उठाउने व्यक्तित्वका रूपमा परिचित कृष्ण ढकाललाई यसपटकको निर्वाचनमा तृतीय उपाध्यक्ष पदका लागि सक्षम, अनुभवी र व्यवसायीमैत्री उम्मेदवारका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार