आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, नेपाल र भारतबीचको सम्बन्ध नतिजामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री

शनिबार, जेष्ठ २३ २०८३

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शनिबार भेटवार्ता भएको छ ।
दिल्लीमा भएको भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरले ​भारत नेपालसँग पारस्परिक प्रगति, समृद्धि र दुवै देशका नागरिकको कल्याणका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए ।

‘भारत–नेपाल सम्बन्धको सन्दर्भमा, हामीबीच अत्यन्त विशेष सम्बन्ध छ, जुन जनस्तरको घनिष्ठ सम्बन्ध, सीमापार सम्पर्क तथा साझा सांस्कृतिक र धार्मिक परम्पराको बलियो आधारमा निर्माण भएको छ,’ उनले भने, ‘यो सम्बन्ध आपसी विश्वास, सद्भावना र पारस्परिक हितमा आधारित छ। व्यापार, वाणिज्य, लगानी, ऊर्जा, विकास सहकार्य, शिक्षा, विपद् व्यवस्थापन तथा संस्कृतिजस्ता क्षेत्रमा हाम्रो द्विपक्षीय सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको छ।’

भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निम्तोमा परराष्ट्रमन्त्री खनाल शुक्रबार भारत प्रस्थान गरेका थिए ।
परराष्ट्रमन्त्री खनालसँग भेटेपछि विदेशमन्त्री जयशंकरले एक भिडियो शेयर गर्दै भारत–नेपाल सम्बन्ध नयाँ दिशामा अगाडि बढेको समेत बताएका छन् ।

‘हामी विश्वास गर्छौं कि आज भारत–नेपाल सम्बन्धलाई नयाँ दिशा दिने र हाम्रो सम्बन्धको पूर्ण सम्भावनालाई साकार पार्ने अवसर उपलब्ध छ। आजका छलफलहरूले हामीलाई उक्त लक्ष्यतर्फ अघि बढ्न मद्दत गर्नेछन् भन्नेमा म विश्वस्त छु,’ उनले भनेका छन् ।
यस्तै परराष्ट्र मन्त्रालयले पनि उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल भएको जनाएको छ ।
परराष्ट्रमन्त्री खनाल आइतबारसम्म भारत भ्रमणमा रहनेछन् ।
यसैबीच परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो सम्बन्धलाई अब भावनात्मक कुरामा मात्र सीमित नराखी ठोस तथ्य, तथ्याङ्क र नतिजामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालमा नयाँ राजनीतिक शक्तिको उदय र बदलिँदो जनअपेक्षासँगै दुई देशबीचको कुटनीतिक सम्बन्धलाई नयाँ ढङ्गले ‘रिसेट’ गर्नुपर्ने उनको धारणा छ ।

शनिबार भारतीय सञ्चार माध्यम एनडिटिभीसँग विशेष अन्तर्वार्तामा खनालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध अब परम्परागत ढर्राबाट माथि उठ्नुपर्ने बताएका हुन् ।

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र युवा नेतृत्वले प्राप्त गरेको जनमत सुशासन र आर्थिक समृद्धिका लागि भएको उल्लेख गर्दै हाल भारत भ्रमणमा रहेका उनले कुटनीतिमा पनि त्यसको प्रतिबिम्ब देखिनुपर्ने उल्लेख गरे ।

‘हामी विगतको भारी र वैचारिक पूर्वाग्रह बोकेर होइन, भविष्यको स्पष्ट खाका लिएर सम्बन्ध सुदृढ गर्न चाहन्छौँ,’ खनालले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध अब केवल भावनात्मक कुरामा मात्र होइन, तथ्य र तथ्याङ्कमा आधारित हुनुपर्छ । हामीले धेरै परियोजनाको घोषणा गर्नेभन्दा पनि छानिएका क्षेत्रमा छिटो र मापनयोग्य नतिजा निकाल्ने बाटो रोज्नुपर्छ ।’

आफ्नो दिल्ली भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भएका भेटवार्ताहरू अत्यन्तै सकारात्मक र सौहार्दपूर्ण रहेको उनले जानकारी दिए । ती भेटहरूमा सुरक्षा सहकार्यका साथै नेपालको ऊर्जा क्षेत्र, भौतिक पूर्वाधार र डिजिटलनेक्टिभिटीका विषयमा गहन छलफल भएको उनले बताए ।

खनालका अनुसार नेपालले विशेषगरी ऊर्जा क्षेत्रमा १० हजार मेगावाट विद्युत निर्यातको लक्ष्य, बंगलादेशसँगको त्रिपक्षीय व्यापार र भारतीय प्रसारण लाइनको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालनका लागि आवश्यक हवाई रुट र पूर्वाधार विकासमा भारतको सहयोग नेपालको प्रमुख चासोको विषय रहेको उनले स्पष्ट पारे ।

नेपाल र भारतका जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन प्रविधि र शिक्षामा सहकार्यको नयाँ प्रस्ताव समेत गरिएको छ ।

भारतमा सफल भएको ‘यूपीआई’ भुक्तानी प्रणालीलाई नेपालमा पूर्ण रूपमा लागू गर्ने र नेपालमा भारतीय प्रविधि संस्थान एवं एम्स जस्ता प्रतिष्ठित संस्थाहरूको क्याम्पस विस्तार गर्ने विषयमा समेत छलफल अगाडि बढेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार