काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा तृतीय उपाध्यक्ष पदका उम्मेदवार इश्वर सापकोटाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । अक्सन इन्टरनेशनल प्रालिका अध्यक्षसमेत रहेका सापकोटा वैदेशिक रोजगार क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय व्यवसायीका रूपमा परिचित छन्।
संघभित्र देखिएको अस्थिरता, व्यवसायीमाथि बढ्दो दबाब तथा वैदेशिक रोजगार क्षेत्रले सामना गरिरहेका विविध चुनौतीका बीच आफू व्यवसायीहरूको आवाज बन्ने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको सापकोटाले बताएका छन्।
गत निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएर उल्लेखनीय मत प्राप्त गरेका सापकोटा यसपटक तृतीय उपाध्यक्ष पदमा उम्मेदवार बनेका हुन्। व्यवसायीहरूमाझ सहज, स्पष्ट र सहयोगी स्वभावका कारण उनले राम्रो प्रभाव कायम गरेको व्यवसायीहरू बताउँछन्।
सापकोटाले संघको नेतृत्व व्यवसायीका वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्दै संघलाई व्यवसायीको भरोसायोग्य संस्था बनाउनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, व्यवस्थित र सम्मानित बनाउने अभियानमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार वैदेशिक रोजगार क्षेत्रमा वर्षौंदेखि विभिन्न प्रकारका सिन्डिकेट, प्रशासनिक झन्झट र अनावश्यक अवरोधका कारण व्यवसायीहरू समस्यामा पर्दै आएका छन्। यस्ता विकृति अन्त्य गर्न संघले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
निर्वाचित भए संघभित्र कुनै पनि प्रकारको सिन्डिकेट प्रणाली लागू हुन नदिने, नयाँ तथा आकर्षक श्रम गन्तव्य मुलुकको खोजी गर्ने, जापान, युरोपलगायतका देशमा रोजगार मेला आयोजना गर्न पहल गर्ने तथा संस्थागत वैदेशिक रोजगार प्रवर्द्धनमा विशेष ध्यान दिने उनले बताएका छन्।
जापानलाई प्रमुख श्रम गन्तव्य बनाएर नेपाली दक्ष जनशक्ति पठाउने कार्यमा सक्रिय रहेका सापकोटाले निःशुल्क जापानी भाषा प्रशिक्षणमार्फत हजारौं नेपाली युवालाई अवसर दिलाउन भूमिका खेलेको दाबी गरेका छन्। वैदेशिक रोजगारलाई केवल व्यवसायका रूपमा नभई देशको अर्थतन्त्र र युवाको भविष्यसँग जोडिएको क्षेत्रका रूपमा हेर्नुपर्ने उनको धारणा छ।
सापकोटा संघको आफ्नै प्रशासनिक भवन हुनुपर्ने अवधारणाका समर्थकसमेत हुन्। संघको भवन खरिद अभियानमा उनले ११ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए। व्यवसायीहरूले संघप्रतिको उनको योगदानलाई सकारात्मक रूपमा लिने गरेका छन्।
संघभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला सापकोटाले व्यवसायीको हकहित, संघको सुदृढीकरण र व्यवसायिक एकताको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। तृतीय उपाध्यक्ष पदमा उनको उम्मेदवारीले यसपटकको निर्वाचनलाई थप रोचक बनाएको व्यवसायीहरूको भनाइ छ।