शनिबार, जेष्ठ २३ २०८३
काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा नेतृत्व चयनको सरगर्मी उत्कर्षमा पुगेको छ। जेठ २४ गते हुने निर्वाचनलाई संघको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। उच्च अदालत पाटनले संघको प्रबन्ध समितिलाई नयाँ कार्यसमितिको निर्वाचन गराउने अधिकार रहेको आदेश दिएपछि उम्मेदवार छनोट, प्यानल निर्माण र चुनावी समीकरण थप तीव्र बनेका छन्।
संघभित्र लामो समयदेखि देखिएको विवाद, दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामा तथा नेतृत्व संकटपछि हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि पूर्व वरिष्ठ उपाध्यक्ष हरिबहादुर पाण्डे, पूर्व महासचिव मेघनाथ भुर्तेल र पूर्व वरिष्ठ उपाध्यक्ष डिककुमार खत्री मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा उत्रिएका छन्। यससँगै विभिन्न समूहका स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले निर्वाचनलाई अझ रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।
स्वतन्त्र व्यवसायीहरूको तर्फबाट सामाखुशी एकता समिति, गणतान्त्रिक व्यवसायी समूह र एकीकृत व्यवसायीहरूको सहकार्यमा हरिबहादुर पाण्डेको नेतृत्वमा प्यानल घोषणा गरिएको छ। पाण्डेले विगतमा संघको वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिसकेका छन्। उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सञ्जु गुरुङ, उपाध्यक्षमा जब्बर अली मियाँ, महासचिवमा नूर मोहम्मद मियाँ तथा कोषाध्यक्षमा विनिता कटुवाल रहेका छन्।
पाण्डे नेतृत्वको समूहले संघलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै व्यवसायीको साझा संस्था बनाउने, व्यवसायीका हकहितको रक्षा गर्ने, डिमाण्ड प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने, नयाँ श्रम गन्तव्य विस्तार गर्ने तथा संघको गरिमा पुनःस्थापित गर्ने एजेण्डा अघि सारेको छ। वरिष्ठ उपाध्यक्षका उम्मेदवार सञ्जु गुरुङले व्यवसायीको छवि सुधार, संस्थागत सुदृढीकरण तथा वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी र सम्मानित बनाउने अभियानमा आफूहरू केन्द्रित रहेको बताएका छन्।
उता लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पूर्व महासचिव मेघनाथ भुर्तेलले ‘सशक्त संघ, सुरक्षित व्यवसाय, समृद्ध वैदेशिक रोजगार क्षेत्र’ भन्ने नारासहित चुनावी अभियान अघि बढाएका छन्। भुर्तेलले व्यवसायीलाई केवल नियमनको विषयका रूपमा नभई देशको अर्थतन्त्र, रोजगारी र रेमिट्यान्सको महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै आएका छन्।
उनले डिमाण्ड प्रमाणीकरण, श्रम स्वीकृति तथा अन्य प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री बनाउने, नयाँ श्रम गन्तव्य विस्तार गर्ने, संघभित्र पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने तथा सरकारसँग प्रभावकारी समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। केही व्यक्तिका कारण सम्पूर्ण व्यवसायी समुदायलाई दोषी देखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको जोड छ।
एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिककुमार खत्री पनि बलिया दाबेदारका रूपमा उदाएका छन्। संघका पूर्व वरिष्ठ उपाध्यक्ष खत्रीले व्यवसायीको हकहित संरक्षण, नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा सरकारी निकायसँग प्रभावकारी संवादलाई आफ्नो प्रमुख एजेण्डा बनाएका छन्।
खत्रीले वैदेशिक रोजगार क्षेत्रका समस्या केवल म्यानपावर व्यवसायीसँग मात्र सम्बन्धित नभई सरकार, नियामक निकाय, स्वास्थ्य संस्था, तालिम प्रदायक तथा अन्य सरोकारवालाको साझा जिम्मेवारी रहेको बताएका छन्। निजी क्षेत्रलाई मात्र दोषी देखाएर कारबाही गर्ने प्रवृत्तिले न श्रमिकको हित सुरक्षित हुने न त क्षेत्र व्यवस्थित बन्ने उनको तर्क छ।
अध्यक्ष पदको प्रतिस्पर्धासँगै अन्य पदमा पनि उम्मेदवारहरू सक्रिय भएका छन्। अक्सन इन्टरनेशनल प्रालिका अध्यक्ष इश्वर सापकोटाले तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। करिब दुई दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय सापकोटाले सिन्डिकेट अन्त्य, नयाँ श्रम गन्तव्यको खोजी, जापान तथा युरोपमा रोजगार मेला आयोजना र स्वतन्त्र व्यवसायीको हकहित संरक्षणलाई प्राथमिकतामा राखेका छन्।
त्यस्तै सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट हरी डाँगी महासचिव पदमा उम्मेदवारी दिने भएका छन्। उनले पारदर्शी भर्ती प्रक्रिया, डिजिटल सेवा प्रणाली, श्रमिक सुरक्षा, लागत खर्चको वैज्ञानिक निर्धारण तथा व्यवसायीलाई राज्यको साझेदारका रूपमा स्थापित गर्ने एजेण्डा सार्वजनिक गरेका छन्। सोही समूहबाट तुलसी पुरी र विवश ढुंगाना उपाध्यक्ष पदमा तथा धुव्र जोशी र प्रशान्त खतिवडा सदस्य पदमा उम्मेदवार बन्ने तयारीमा छन्। करिब तीन सय व्यवसायी आबद्ध रहेको उक्त समूहलाई निर्वाचनको निर्णायक शक्तिका रूपमा हेरिएको छ।
यसबीच निर्वाचनको सबैभन्दा महत्वपूर्ण र चासोको विषय भने निवर्तमान अध्यक्ष भुवन सिंह गुरुङको समर्थन कसलाई रहन्छ भन्ने बनेको छ। व्यवसायी वृत्तमा गुरुङको समर्थन प्राप्त गर्ने समूहको जितको सम्भावना उल्लेखनीय रूपमा बढ्ने विश्लेषण भइरहेको छ।
गत निर्वाचनमा आफ्नै लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको आधिकारिक लाइनविपरीत बागी उम्मेदवार बनेका गुरुङ अत्यधिक मतसहित विजयी भएका थिए। त्यसैले संघभित्र उनको प्रभाव, संगठन क्षमता र व्यवसायीमाझ रहेको स्वीकार्यतालाई अहिले पनि निर्णायक मानिएको छ।
गुरुङ नेतृत्वको कार्यसमितिलाई अन्तिम अवस्थासम्म साथ दिएका तथा निकट सहकार्य गरेका हरिबहादुर पाण्डेलाई उनले समर्थन गरेमा स्वतन्त्र समूहको पक्षमा चुनावी माहोल झुक्न सक्ने धेरै व्यवसायीहरूको आकलन छ। अर्कोतर्फ लोकतान्त्रिक एसोसिएसनकै आधिकारिक उम्मेदवार भएका कारण मेघनाथ भुर्तेललाई गुरुङले समर्थन गरेपछि भुर्तेल बलियो प्रतिस्पर्धी बनेका छन ।
यता प्रगतिशील मञ्चको संगठित आधार, युवा व्यवसायीको समर्थन र वैकल्पिक नेतृत्वको एजेण्डाका कारण डिककुमार खत्रीलाई पनि कम आँक्न नसकिने अवस्था देखिएको छ। त्यसैले अन्तिम समयमा बन्ने गठबन्धन, समर्थन र समीकरणले चुनावी परिणाम निर्धारण गर्न सक्ने विश्लेषण व्यवसायी वृत्तमा भइरहेको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न समूहबीच सहमति र सर्वसम्मतिको प्रयास जारी रहे पनि हालसम्मको अवस्था हेर्दा अध्यक्ष पदमा पाण्डे, भुर्तेल र खत्रीबीच त्रिपक्षीय भिडन्त हुने संकेत स्पष्ट देखिएको छ। वैदेशिक रोजगार क्षेत्रको भविष्य, व्यवसायीको सम्मान, श्रमिकको सुरक्षा तथा संघको संस्थागत स्थायित्वसँग जोडिएको यो निर्वाचनलाई संघकै इतिहासको सबैभन्दा महत्वपूर्ण र चासोपूर्ण प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिएको छ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij