शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ : ओली, पार्टी एकता र वैचारिक स्पष्टतामा जोड

बुधबार, जेष्ठ २० २०८३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेका विभिन्न छानबिन आयोग र समितिहरुलाई ‘प्रतिशोधको पोको’ को संज्ञा दिँदै ती निकायलाई आफूले मान्यता नदिने उद्घोष गरेका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टीको संगठन विभागको विशेष कार्यशालालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राज्य संयन्त्रको दुरुपयोग गरेर एमाले र यसका नेताहरुलाई फसाउने षड्यन्त्र भइरहेको आरोप लगाए । चुनावपछि ओलीको यो औपचारिक खुला सम्बोधन थियो ।

अध्यक्ष ओलीले फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई ‘अप्रत्याशित, अस्वाभाविक र कृत्रिम’ भन्दै यसले देशको सुशासन र विकासको अभियानलाई गम्भीर धक्का पुर्‍याएको टिप्पणी गरे । निर्वाचनमा राज्य शक्तिको चरम दुरुपयोग भएको र कतिपय ठाउँमा मतदानमा प्रयोग गरिएको मसी समेत केही बेरमै उड्ने गरी धाँधली गरिएको दाबी उनले गरे । राष्ट्रिय राजनीति अत्यन्तै जटिल र संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै उनले वर्तमान सरकार र राज्य संयन्त्रले लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएको बताए ।

विगतमा घटेका भदौ २३ र २४ गतेका घटनाहरुलाई लक्षित गर्दै ओलीले ती घटनाहरु स्वस्फूर्त आन्दोलन नभई पूर्वनियोजित आपराधिक षड्यन्त्र भएको जिकिर गरे । “आपराधिक क्रियाकलाप गर्नेहरुले आफ्नो अपराध लुकाउन सधैँ ‘क्रान्ति’ को कवच प्रयोग गर्छन्,” ओलीले भने, “युवाहरुको रगत बगाउने, हत्याको प्रपञ्च रच्ने र देशमा आतंक फैलाउने कार्यलाई कसरी क्रान्ति भन्न सकिन्छ ?” उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले समेत ती घटनाहरु प्रायोजित भएको पुष्टि गरिसकेको स्मरण गराए ।

ओलीले ती घटनाहरु तत्कालीन जननिर्वाचित सरकारलाई असंवैधानिक बाटोबाट ढाल्नका लागि रचिएको दाबी गरे । “जब लोकतान्त्रिक विधिबाट सरकार विस्थापन गर्न सम्भव भएन, तब हिंसा र आगजनीको सहारा लिइयो,” उनले भने, “गुगल म्यापको प्रयोग गरेर नेताहरुका घर र राज्यका अंगहरुमा आक्रमण गर्ने योजना बनाइएको थियो, यो कुनै आकस्मिक आक्रोश थिएन ।”

सरकारले गठन गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समितिलाई ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको ‘शाही आयोग’ सँग तुलना गरे । उनले देशमा अख्तियार र अदालत जस्ता स्थायी निकाय हुँदाहुँदै नयाँ समिति बनाउनुको उद्देश्य एमालेका नेताहरुलाई छानी–छानी प्रहार गर्नु मात्र रहेको बताए ।

“म यसै मञ्चबाट स्पष्ट पार्न चाहन्छु, यस्ता असंवैधानिक र प्रतिशोधपूर्ण आयोगलाई हामी कुनै मान्यता दिँदैनौँ,” ओलीले कडा शब्दमा भने, “म त्यहाँ बयान दिन जान्नँ र सम्पत्ति विवरण पनि पठाउँदिनँ । मेरो घरमा आगो लगाएर सबै सम्पत्ति खरानी बनाउने राज्यले अहिले मलाई नै सम्पत्ति विवरण सोधिरहेको छ । के म त्यही आगोको खरानी विवरणका रुपमा बुझाऊँ ?” उनले राज्य संयन्त्र पूर्वाग्रहको आधारमा चलेको भन्दै यस्तो ‘अराजक तन्त्र’ धेरै दिन नटिक्ने चेतावनी दिए ।

अध्यक्ष ओलीले राष्ट्रपति संस्थाको भूमिकाप्रति पनि तिखो आलोचना गरे । उनले राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ को संज्ञा दिँदै असंवैधानिक सरकारको सिफारिसमा संसद विघटन गरेर लोकतन्त्रको उपहास गरिएको बताए । “संविधानको रक्षक हुनुपर्ने संस्थाले कुन धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्‍यो र कुन आधारमा संसद विघटन गर्‍यो ?” ओलीले प्रश्न गरे, “बडो जुक्ति लगाएर लोकतन्त्र बचाएँ भन्नु विडम्बना मात्र हो ।”

राज्यले सर्वसाधारण र पीडितलाई झन् प्रताडित गरिरहेको भन्दै ओलीले अहिले ‘राज्य–संरक्षित अराजकता’ मौलाएको बताए । सत्ता निकट व्यक्तिले जस्तोसुकै अपराध गरे पनि उन्मुक्ति पाउने तर विरोधी विचार राख्नेलाई झुटा मुद्दामा फसाउने काम भइरहेको उनको आरोप थियो ।

आफ्नो बुवाको स्वर्गारोहणपछिको काजकिरियाकै समयमा आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनालाई ओलीले प्रतिशोधको पराकाष्ठा भने । “म १३ दिनको शोकमा थिएँ, १३ औँ दिनको काम सकेर उठेको भोलिपल्टै सरकारले मलाई पक्राउ गर्ने निर्णय गर्‍यो,” उनले भने, “१३ दिनसम्म हिरासतमा राख्दा पनि कुनै प्रमाण फेला नपरेपछि मलाई छाड्न बाध्य भयो । यसले वर्तमान सरकारको न्याय सम्पादनको नियत छर्लङ्ग पारेको छ ।”

ओलीले महाभारतको अर्जुन र उनको ‘गाण्डिव’ धनुषको प्रसंग उल्लेख गर्दै राज्य संयन्त्र नागरिकको सुरक्षा गर्न पूर्ण रुपमा असफल भएको टिप्पणी गरे । “हामीसँग जनमत थियो, महाभारत जितेजस्तै राजनीतिक सफलता थियो, तर हाम्रो राज्यसंयन्त्ररूपी ‘गाण्डिव’ अराजक तत्वहरुका अगाडि निरिह साबित भयो,” उनले भने ।

पार्टीभित्रको आन्तरिक जीवनका विषयमा बोल्दै ओलीले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकताबद्ध हुन कार्यकर्तालाई आह्वान गरे । उनले पार्टीभित्र अनुशासनहीनता र गुटबन्दी सह्य नहुने स्पष्ट पारे । विद्या भण्डारीको सदस्यता नवीकरणको विषयमा भइरहेको चर्चालाई ‘अर्थहीन’ भन्दै उनले संवैधानिक बाध्यताका कारण रोकिएको सदस्यता कार्यकाल सकिएपछि पुनः सुचारु हुनु स्वाभाविक प्रक्रिया भएको बताए ।

ओलीले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेकपा एमाले अविचलित भएर अगाडि बढ्ने संकल्प दोहोर्‍याए । “हामीलाई जतिसुकै तर्साउन खोजिए पनि सत्यको जित अवश्यंभावी छ,” उनले भने, “उच्च मनोबल र फलामे अनुशासनका साथ आगामी संघर्षका लागि तयार रहन म सबैमा अपिल गर्दछु ।”

प्रतिक्रिया
सम्बन्धित समाचार