काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र भएको विवाद अब खुला शक्ति संघर्षमा रूपान्तरित भएको छ। संघले विधानअनुसार नयाँ व्यवस्थापन तथा निर्वाचन प्रक्रिया अघि बढाइएको दाबी गरिरहेको बेला वर्तमान अध्यक्ष भुवन गुरुङले भने आफूलाई अमान्य बनाउने प्रयास भएको आरोप लगाउँदै जेठ २४ गते निर्वाचन सम्भव नरहेको बताएका छन्। उता संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले विवादलाई विधि, विधान र सहमतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्।
संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले जारी गरेको प्रेस नोटअनुसार विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको नेतृत्वमा प्रवन्ध समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनअनुसार विशेष साधारण सभा तथा निर्वाचन प्रक्रिया अघि बढाइएको जनाउँदै संघले २०८३ साल जेठ २४ गते निर्वाचन सम्पन्न गर्ने मिति तय गरिएको जनाएको छ। निर्वाचन प्रयोजनका लागि प्रतिनिधि संकलनको कार्य जारी रहेको पनि संघले उल्लेख गरेको छ।
संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, सल्लाहकार तथा विभिन्न घटकका प्रतिनिधिहरूको सहभागितामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग मन्त्रालयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। छलफलमा वैदेशिक रोजगार व्यवसायसँग प्रत्यक्ष सम्बन्धित सेवा शुल्क, मागपत्र प्रमाणीकरण, प्रक्रिया सरलीकरण, नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणलगायतका विषयमा गम्भीर संवाद भएको बताइएको छ।
मन्त्री यादवबाट प्राप्त सकारात्मक धारणा र प्रतिबद्धताले व्यवसायीहरूको जायज माग सम्बोधन हुने विश्वास व्यक्त गरेको छ। साथै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक नीतिगत सुधार अघि बढ्ने अपेक्षा गरिएको छ। व्यवसायीहरूको हकहित संरक्षण तथा क्षेत्रका समस्या समाधानका विषयमा देखाइएको सकारात्मक सोचप्रति संघले मन्त्री यादवलाई धन्यवादसमेत दिएको छ।
तर संघको पछिल्लो गतिविधिप्रति भुवन गुरुङले गम्भीर असन्तुष्टि जनाएका छन्। उनले आफू बुबाको निधनपछि १३ दिनको काजकिरियामा रहेका बेला केही समूहले योजनाबद्ध रूपमा गतिविधि अघि बढाएर आफूलाई अमान्य बनाउने प्रयास गरेको आरोप लगाएका छन्।
गुरुङका अनुसार हाल घोषणा गरिएको जेठ २४ गतेको निर्वाचन व्यावहारिक रूपमा सम्भव छैन। निर्वाचनका लागि आवश्यक तयारी, स्थान निर्धारण तथा प्रक्रिया नै स्पष्ट नभएको अवस्थामा चुनावको मिति घोषणा गरेर व्यवसायीहरूलाई भ्रममा पार्ने प्रयास भइरहेको उनको आरोप छ।
“अहिलेसम्म चुनाव गर्ने ठाउँ नै तोकिएको छैन। निर्वाचन हुन्छ भनेर व्यवसायीलाई बेवकुफ बनाउने खेल रचिएको छ,” गुरुङले बताएका छन्। उनले संघभित्र भइरहेको गतिविधि विधान र कानुनी प्रक्रियाविपरीत रहेको दाबी गर्दै आवश्यक परे कानुनी लडाइँमा जाने चेतावनीसमेत दिएका छन्।
“म बुबाको १३ दिनको काममा रहेको समयमा सुनियोजित रूपमा गतिविधि अघि बढाइयो। मलाई अमान्य बनाउने प्रयास स्वीकार्य छैन। आवश्यक परे म कानुनी उपचारको बाटोमा जान्छु,” गुरुङले भने।
यसैबीच, संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले वर्तमान विवादलाई टकरावको माध्यमबाट नभई संवाद, विधि र विधानमार्फत समाधान गर्नुपर्ने धारणा राखेका छन्। उनले वैदेशिक रोजगार क्षेत्र अहिले नै विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा संघभित्रको अस्थिरताले समग्र व्यवसायलाई नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।
भण्डारीले संघ कुनै व्यक्ति वा समूह विशेषको नभई सम्पूर्ण व्यवसायीहरूको साझा संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्थायित्व र व्यवसायीहरूको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले सबै पक्षबीच संवाद र सहमतिका आधारमा निकास खोज्नुपर्नेमा जोड दिएका छन्।
“संघलाई टकरावको बाटोमा होइन, विधि, विधान र सहमतिबाट निकास दिनुपर्छ। अहिले व्यवसायीहरू नै विभिन्न चुनौतीबाट गुज्रिरहेका बेला संस्था झन् कमजोर हुने अवस्था आउनु हुँदैन,” भण्डारीले बताएका छन्।
संघभित्रको पछिल्लो घटनाक्रमले आगामी निर्वाचन, नेतृत्वको वैधानिकता तथा संस्थागत स्थायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। एकातर्फ निर्वाचनको तयारी भइरहेको दाबी गरिँदा अर्कोतर्फ वर्तमान अध्यक्षकै असहमति, निर्वाचन सम्भावनामाथिको प्रश्न र कानुनी चुनौतीको संकेतले संघको आन्तरिक विवाद अझ पेचिलो बन्ने देखिएको छ। अब संघको नेतृत्व, वैधानिकता र भविष्यको दिशा आगामी विशेष साधारण सभा तथा सम्भावित निर्वाचनले तय गर्ने देखिन्छ।