शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मलेसिया रोजगारीमा मेडिकलदेखि मेनपावरसम्म अर्बौंको सिन्डिकेटको खेल : प्रधानमन्त्रीद्वारा कार्वाहीको आदेशपछि सिआईबी एक्सनमा, कैलाश खड्का समूहद्वारा मेडिकलसँगै मेनपावरमा सिन्डिकेटको प्रयास

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं(जस)–मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीबाट सुरु भएको विवाद अब वैदेशिक रोजगार क्षेत्रकै सबैभन्दा ठूलो संगठित आर्थिक अपराध प्रकरणका रूपमा अगाडि आउन थालेको छ । वर्षौंदेखि मेडिकल, बायोमेडिकल सिस्टम (द्यःक्), भिसा प्रक्रिया र अतिरिक्त शुल्कमार्फत अर्बौं रुपैयाँ उठाएको आरोप खेपिरहेको समूह अहिले मलेसिया रोजगारीलाई नै सीमित मेनपावर कम्पनीको नियन्त्रणमा लैजान सक्रिय भएको गम्भीर आरोप सार्वजनिक भएको छ ।
वैदेशिक रोजगार क्षेत्रका पुराना व्यवसायी, संघका पूर्वअध्यक्षहरू तथा श्रम मन्त्रालयसँग जोडिएका स्रोतहरूका अनुसार नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का र उनीनिकट समूहले केही ठूला मेनपावर व्यवसायीसँग मिलेर “मलेसिया मेनपावर सिन्डिकेट” निर्माण गर्ने योजनामा काम गरिरहेको आरोप छ । पछिल्लो समय नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको चरम विवाद, समानान्तर गतिविधि, आरोप–प्रत्यारोप र शक्ति संघर्षलाई समेत अहिले यही सिन्डिकेटको आन्तरिक युद्धका रूपमा हेरिन थालिएको छ ।
“यो साधारण संगठनात्मक विवाद होइन, मलेसिया रोजगार बजार कसले नियन्त्रण गर्ने भन्ने अर्बौंको लडाइँ हो,” वैदेशिक रोजगार क्षेत्रका एक पूर्वअध्यक्षले बताए । “मेडिकल सिन्डिकेट चलाएर वर्षौंदेखि आर्थिक लाभ लिएको समूह अब मेनपावर बजार नै नियन्त्रण गर्न खोज्दैछ ।”
नेपालस्थित मलेसियन दूतावासको नाममा सार्वजनिक गरिएको विवादास्पद विज्ञप्तिले यो आशंकालाई अझ बलियो बनाएको छ । उक्त विज्ञप्तिमा फेरि सीमित ३६ मेडिकल संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गरिने तथा प्रति श्रमिक थप ३ हजार रुपैयाँ सेवा शुल्क लाग्ने उल्लेख भएपछि वैदेशिक रोजगार क्षेत्र पुनः तरंगित बनेको हो ।
सबैभन्दा गम्भीर प्रश्न भनेको उक्त पत्र वास्तवमै नयाँ आधिकारिक निर्णय हो कि पुरानै संरचना जोगाउन सम्पादन गरेर पुनः सार्वजनिक गरिएको कागज भन्ने हो । श्रम मन्त्रालय स्रोतका अनुसार पत्रको भाषा, मिति, प्रक्रिया र कानुनी आधारमाथि आन्तरिक अध्ययन भइरहेको छ । तर वैदेशिक रोजगार क्षेत्रका जानकारहरूका अनुसार विवाद केवल मेडिकलमा सीमित छैन । अहिले मलेसिया रोजगारको सम्पूर्ण चेन मेडिकल, भिसा, बायोमेडिकल, श्रमिक छनोट, भर्ती प्रक्रिया र मेनपावर आपूर्ति एउटै शक्ति समूहको नियन्त्रणमा लैजाने प्रयास भइरहेको आशंका गरिएको छ ।
यदि यो संरचना सफल भयो भने मलेसिया रोजगारी पूर्ण रूपमा “सिन्डिकेट मोडल” मा जाने, सीमित कम्पनीले मात्रै कामदार पठाउने, कृत्रिम शुल्क वृद्धि हुने र श्रमिकमाथि पुनः आर्थिक दोहन तीव्र हुने खतरा देखिएको छ । वैदेशिक रोजगार क्षेत्रका केही व्यवसायीहरूका अनुसार अहिले बैरो संघभित्र देखिएको ध्रुवीकरणको मुख्य कारण पनि यही आर्थिक स्वार्थ हो । मेडिकल नेटवर्कसँग निकट सम्बन्ध रहेका केही प्रभावशाली समूहले ठूलो मेनपावर नेटवर्कसँग मिलेर “सीमित कम्पनीलाई मात्रै अवसर दिने संरचना” बनाउन खोजेको आरोप उनीहरूको छ ।
“अहिले संघभित्र देखिएको झगडाको जरो मलेसिया सिन्डिकेट हो,” एक वरिष्ठ व्यवसायीले भने, “मेडिकलदेखि मेनपावरसम्म एउटै चेन बनाएर बजार कब्जा गर्ने खेल भइरहेको छ ।” यसबीच प्रधानमन्त्री कार्यालयले यो प्रकरणलाई अत्यन्त गम्भीर रूपमा लिएको स्रोतहरूको दाबी छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मेडिकल सिन्डिकेटसँगै मेनपावर नेटवर्क, बैंकिङ कारोबार, विदेशी कम्पनीसँगको सम्बन्ध, सम्पत्ति शुद्धीकरण र सरकारी संरक्षणको कोणबाट समेत अनुसन्धान अगाडि बढाएको छ ।
स्रोतका अनुसार अनुसन्धान अब केवल ३६ मेडिकल वा द्यःक् शुल्कमा सीमित नरहने संकेत देखिएको छ । मलेसिया रोजगारसँग जोडिएका केही ठूला मेनपावर कम्पनी, तिनका आर्थिक कारोबार, मेडिकल रेफरल सिस्टम र विदेशी नेटवर्कसँगको सम्बन्धसमेत अनुसन्धानको घेरामा आउन सक्ने चर्चा छ । विशेषगरी एउटै श्रमिकलाई मेडिकल, भिसा, भर्ती र टिकटिङसम्म एउटै नेटवर्कमार्फत घुमाइने संरचना निर्माण गरिएको थियो कि भन्ने कोणबाट समेत अनुसन्धान भइरहेको बताइन्छ । यो प्रकरणमा अर्को गम्भीर प्रश्न श्रम मन्त्रालयभित्रको भूमिकामाथि उठेको छ । तत्कालीन श्रममन्त्री राजेन्द्र सिंह भण्डारीको कार्यकालमा गठित १६ सदस्यीय सरकारी अनुसन्धान टोलीले मेडिकल सिन्डिकेटमाथि विस्तृत अनुसन्धान गरेर प्रतिवेदन तयार पारेको थियो । उक्त टोलीमा उपसचिव, नेपाल प्रहरीका डीएसपी, इन्स्पेक्टर तथा विभिन्न सरकारी निकायका अधिकारी सहभागी थिए ।
तीन महिनासम्म चलेको अनुसन्धानमा बैंक कारोबार, मेडिकल रिपोर्ट, डिजिटल डेटा, भ्याट बिल, विदेशी कम्पनीसँगको सम्झौता तथा पीडित श्रमिकका उजुरी संकलन गरिएको थियो । प्रतिवेदनले वैदेशिक रोजगार स्वास्थ्य परीक्षण क्षेत्रलाई “संगठित आर्थिक लुटको संरचना” भनेको स्रोतको दाबी छ । तर सबैभन्दा रहस्यमय पक्ष त्यसपछि सुरु भयो । प्रधानमन्त्री कार्यालयले सिआईबीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि मूल प्रतिवेदन, जफत कागजात र डिजिटल प्रमाण मागिएको थियो । तर श्रम मन्त्रालयले ती फाइल फेला पार्न नसकेको स्रोतले जनाएको छ ।
मन्त्रालयभित्रै योजनाबद्ध रूपमा फाइल गायब बनाइएको आशंका अहिले थप बलियो बनेको छ । अझ गम्भीर कुरा, यति ठूलो अनुसन्धान प्रतिवेदन औपचारिक रूपमा दर्ता नै नगरिएको खुलेको बताइन्छ । यसपछि अहिले वैदेशिक रोजगार क्षेत्रभित्र एउटै प्रश्न गुञ्जिरहेको छ,
के मेडिकल माफियाले वर्षौंदेखि श्रम मन्त्रालयका केही अधिकारीलाई प्रभावमा राखेर आफ्नो सिन्डिकेट साम्राज्य चलाइरहेको थियो ?
क्षेत्रका व्यवसायीहरू खुला रूपमा भन्न थालेका छन्, “सिन्डिकेट बाहिरभन्दा बढी मन्त्रालयभित्र सुरक्षित थियो ।” यही कारण वर्षौंदेखि उठेका गम्भीर आरोपमाथि कारबाही नभएको, प्रतिवेदन सार्वजनिक नगरिएको र अनुसन्धान फाइल नै गायब बनाइएको दाबी गरिएको छ । अब यो प्रकरण केवल मेडिकल शुल्क वा ३६ मेडिकलको विषयमा सीमित छैन । प्रश्न अब अझ ठूलो बनेको छ, के मलेसिया रोजगारीको सम्पूर्ण प्रणाली केही सीमित मेडिकल व्यवसायी, मेनपावर समूह र तिनका संरक्षणकर्ताको नियन्त्रणमा थियो ? यदि थियो भने राज्य अब पनि मौन बस्ने कि इतिहासकै ठूलो वैदेशिक रोजगार सिन्डिकेटमाथि निर्णायक कारबाही गर्ने ?

प्रतिक्रिया
सम्बन्धित समाचार