काठमाडौँ(जस)–वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौँ महानगरपालिका–४ बस्ने टोखा नगरपालिका–९ का ३० वर्षीया सुमना अर्याल, काठमाडौँ महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौँ महानगरपालिका–३० बस्ने नवलपरासीपूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ र नवलपरासीपूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर छन् ।
पक्राउमध्ये शैलेन्द्रले सर्विया, स्लोभाकियालगायतका देश पठाइदिन्छु भन्दै १३ जना पीडितबाट ३५ लाख ७० हजार रूपैयाँ, सुमनाले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ८२ हजार रूपैयाँ, विकासले स्पेन पठाइदिन्छु भन्दै १० जना पीडितबाट १० लाख रूपैयाँ, बासुदेवले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ५० हजार रूपैयाँ, धनबहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख रूपैयाँ र नौमायाले साइप्रस पठाइदिन्छु भन्दै छ लाख चार हजार ५०० रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शैलेन्द्रलाई काठमाडौंँ नागार्जुन नगरपालिका–९ बाट बिहीबार, सुमना र वासुदेवलाई काठमाडौँ महानगरपालिका–४ तथा विकासलाई काठमाडौँ महानगरपालिका–७ बाट शुक्रबार, धनबहादुरलाई काठमाडौँ महानगरपालिका–२६ बाट र नौमायालाई नवलपरासीपूर्व देवचुली नगरपालिका–८ बाट सोमबार पक्राउ गरेको जनाइएको छ । पक्राउमध्ये शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ भने नौमायालाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उल्लेख छ ।