शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेसको निर्णयले खड्कालाई राहत, क्रियाशील सदस्यता इन्ट्रीको समय

बिहिबार, बैशाख १७ २०८३

काठमाडौं (जस)–नेपाली कांग्रेसले संगठन सुदृढीकरण र आगामी १५ औं महाधिवेशनको तयारीलाई तीव्रता दिँदै महत्वपूर्ण संगठनात्मक तथा अनुशासनात्मक निर्णयहरू गरेको छ । बुधबार ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालयमा बसेका छुट्टाछुट्टै समितिका बैठकहरूले क्रियाशील सदस्यता इन्ट्रीको समय थप गर्नेदेखि पार्टीका शीर्ष नेता तथा बहालवाला मन्त्रीहरूलाई अनुशासनको घेरामा ल्याउनेसम्मका निर्णय गरेका हुन् ।
पूर्णबहादुर खड्कालाई राहत, कान्छाराम निलम्बित
पार्टी केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काका सम्बन्धमा यसअघि अघि बढाइएको स्पष्टीकरणको प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ । पदिय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणमा सर्वोच्च अदालतको पछिल्लो फैसलाले विषयको औचित्य समाप्त गरिदिएको ठहर गर्दै समितिले खड्कालाई राहत दिएको हो ।
यद्यपि, अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध भने कठोर कदम चालेको छ । पार्टी नेतृत्व विरुद्ध बदनियतपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनलाई आजैका मितिदेखि सभापति पदबाट निलम्बन गरिएको छ । अनुसन्धान कार्य प्रभावित हुन सक्ने भन्दै समितिले विधानको धारा ३४ (८) र नियमावलीको नियम २८ बमोजिम निर्णय नहुन्जेलसम्मका लागि उनलाई कामकाज गर्न रोक लगाएको हो ।
अनुशासन समितिले २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात र असहयोग गर्ने ६ जना बहालवाला मन्त्री तथा सांसदहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ । स्पष्टीकरण माग गरिएकाहरूमा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, लुम्बिनीका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशका उपसभापति एवं प्रदेश सभा सदस्य राजु खनाल, मधेश प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि अनुशासन उल्लंघनको कसुरमा स्पष्टीकरण सोधिएको छ । विभिन्न जिल्लाबाट प्राप्त उजुरीहरूको वर्गीकरण सम्पन्न भइसकेकाले अन्य आरोपितहरूलाई पनि ७ दिनभित्र सफाइ पेस गर्न ह्वाट्सएप, भाइबर र मेसेन्जर जस्ता डिजिटल माध्यमबाट पत्राचार गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
यसैबीच, महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले १५ औं महाधिवेशनको आधार तयार पार्न क्रियाशील सदस्यताको डिजिटल इन्ट्री गर्ने समय थप गरेको छ । डिजिटल सिस्टममा विवरण प्रविष्ट गर्न बाँकी रहेका जिल्ला र प्रतिनिधि सभा क्षेत्रहरूको हकमा वैशाख १६ गतेदेखि लागू हुने गरी एक हप्ताको समय दिइएको छ ।
नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कसहितको विवरण बुझाउन छुटेका जिल्लाहरूले यो अवधिभित्र अनिवार्य रूपमा अनलाइन इन्ट्री गरिसक्नुपर्नेछ । यस्तै, विदेशस्थित जनसम्पर्क समितिहरूको समस्या पहिचान गरी अधिवेशन भइसकेका समितिको सदस्यता अद्यावधिक गर्ने र बाँकी रहेकाहरूको हकमा पनि एक हप्ताका लागि डिजिटल प्रणाली खुला गर्ने निर्णय भएको छ । नेपाली नागरिकता भएका व्यक्तिहरूलाई जनसम्पर्क समितिमार्फत क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ ।
वडा तहको समस्या समाधान र विशेष व्यवस्था
विविध कारणले नवीकरण छुटेका र केन्द्रमा निवेदन परेका सदस्यहरूका लागि विधान बमोजिमको शुल्क लिएर केन्द्रबाटै नवीकरण गर्ने बाटो खुलेको छ । साथै, वडा सभापतिहरू रिक्त रहेका स्थानमा सदस्यता अद्यावधिक गर्न बाधा नपुगोस् भनी जिल्ला, क्षेत्र वा वडा कार्यसमितिले तोकेको व्यक्तिमार्फत डिजिटल प्रणाली सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । महाधिवेशनको मुखमा पार्टीभित्रको अनुशासनलाई कडाइ गर्ने र संगठनात्मक ढाँचालाई प्रविधिमैत्री बनाउँदै लैजाने कांग्रेसको यो रणनीतिले आगामी महाधिवेशनको सरगर्मीलाई थप बढाएको छ ।
सिटौलाको पद अर्कैलाई
नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् । आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् ।
सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए । पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् । यसैगरी संसदीय दलका नेता आङ्देम्बेले उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् । शाह कपिलवस्तु–३ बाट निर्वाचित सांसद हुन् । त्यस्तै प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरेका छन् ।
‘धारा ७ (१) बमोजिम प्रतिनिधि सभाका लागि उपनेतामा माननीय अभिषेक प्रताप शाह, धारा १३ (२ं) बमोजिम मुख्य सचेतकमा माननीय वासना थापा र धारा १३ (३) बमोजिम सचेतकमा माननीय निष्कल राईलाई मनोनयन गर्नु भएको छ,’ दलको कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । यसैगरी आङ्देम्बेले पार्टीको राष्ट्रियसभा सचेतकबाट कृष्णबहादुर रोकायलाई हटाएका छन् । उनको स्थानमा आङदेम्बेले पदम परियारलाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार