शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त, प्रवासी नेपालीसँग समन्वय सुदृढ गर्ने लक्ष्य

सोमबार, बैशाख ७ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवासमा रहेका नेपालीसँगको सम्बन्धलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित नेतृत्व पुनर्संरचना गरेको छ। पार्टीको केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय सदस्य दीपक बोहोरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता मनिष झा का अनुसार यसअघि उक्त विभागको नेतृत्व सम्हाल्दै आएका डीपी अर्याल सभामुखमा चयन भएपछि सो पद रिक्त रहेको थियो। रिक्त पदमा बोहोरालाई जिम्मेवारी दिँदै पार्टीले प्रवासी नेपाली समुदायसँगको संगठनात्मक पहुँच विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।
रास्वपाले प्रवासमा रहेका नेपालीहरूलाई पार्टीका नीति, कार्यक्रम र अभियानसँग प्रत्यक्ष जोड्ने तथा उनीहरूको सुझाव र सरोकारलाई संस्थागत रूपमा समेट्ने उद्देश्य राखेको बताइएको छ। नयाँ नेतृत्वमार्फत विभिन्न देशमा रहेका नेपाली समुदायसँग समन्वय सुदृढ गर्दै संगठन विस्तारलाई गति दिने अपेक्षा गरिएको छ।
पार्टी स्रोतका अनुसार प्रवास विभागलाई आगामी दिनमा अझ सक्रिय, प्रविधिमैत्री र परिणाममुखी बनाउने योजना अघि बढाइनेछ। विशेषगरी, वैदेशिक रोजगारी, लगानी, नागरिकता, रेमिटेन्स तथा नीति–निर्माणसँग सम्बन्धित विषयमा प्रवासी नेपालीहरूको आवाजलाई केन्द्रसम्म पुर्‍याउने पहललाई प्राथमिकतामा राखिने जनाइएको छ।
नयाँ जिम्मेवारी सम्हालेका बोहोराले प्रवासमा रहेका नेपालीहरूबीच पार्टीको उपस्थिति सुदृढ गर्दै विश्वासको आधार निर्माण गर्ने र संगठनलाई अन्तर्राष्ट्रिय तहसम्म विस्तार गर्ने लक्ष्य लिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार